पहिरोबाट विस्थापित परिवारको बिचल्ली, सात दिनदेखि विद्यालयमा बस्न बाध्य

  ०७७ असार १४ गते

पहिरोबाट विस्थापित इस्मा गाउँपालिका–४ दोहली रातापानी तथा खासु गाउँका १३ घर परिवारको बिचल्ली भएको छ ।  उनीहरू सात दिनदेखि विद्यालयमा बस्न बाध्य भएका छन् ।

असार ६ गते रातीको अविरल वर्षापछि आएको पहिरोका कारण  रातापानीका नौ घर र खासु गाउँका चार घर परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापितहरू छिमेकीको घर  र विद्यालयमा बस्दै आएका छन् ।

रातापानीका पाँच घर परिवार मुसिकोट नपा–२ मा गएर बसेका छन् । भने दुई घर परिवार जनशक्ति प्रावि, तीन घर परिवार बेसीको गोठ र अन्य परिवार छिमेकीकोमा बस्दै आएका छन् । घरको अन्नपात र बस्तु चौपाया छोडेर विस्थापित भएको एक हप्ता बढि भएको छ ।

कोरोना सङ्क्रमणको अवस्थामा  लामो समय आफन्त र विद्यालयको साँघुरो कोठामा बस्न मुस्किल परेको विस्थापित  मानबहादुर घर्तिले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नुभयो ।

‘पहिरोले घर जाने अवस्था  छैन, अझै पहिरो खसिरहेको छ । निरन्तरको बर्सात  र कोरोना सङ्क्रमणकाबीच गोठ र आफन्तकोमा बालबालिका र वृद्धवृद्धालाई व्यावस्थापन गरिएको छ  ।’ उहाँले भन्नुभयो ।

यसैगरी खासु गाउँका चार घर पहिरोका कारण विस्थापित भएको इस्मा गाउँपालिका – ४ का वडा सदस्य मिना घर्तीले जानकारी दिनुभयो । उहाँले बिद्यालयको साँधुरो कोठा र त्यो पनि पहिरोको जोखिममै भएकाले गाउँपालिकाले विस्थापितको तत्काल अन्यन्त्र व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

रातापानीमा चार/पाँच जना अपाङ्गता पनि विस्थापित भएपछि उनीहरूको व्यवस्थापनमा झनै गाह्रो भएको वडा सदस्य घर्तीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा गुनासो गर्नु भयो ।

राक्से–कल्यार–फुलबारी–कृष्णनगर सडक निर्माणका कारण दुई गाउँ विस्थापित भएका हुन् । सडक निर्माणको क्रममा थुपारिएको माटो बग्ने तथा जमिन भासिने भइरहेको छ ।

विस्थापित परिवारले कोही पनि घर फर्केर जाने अवस्थामा नभएकाले आफुहरूलाई एकै ठाउँ पुनर्वास गर्न माग गरेका छन् । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले विस्थापित परिवारलाई तत्काल गाउँपालिकाको तर्फबाट प्रति परिवार १०/१० हजार रुपियाँ , खाद्यान्न, त्रिपाल र कम्बलको व्यवस्था गरिएकाले विस्तारै एकीकृत रुपमा पुनर्वास गरिने बताउनु भयो ।

2020062801gulmi

 


टोपलाल अर्याल