पर्साका सामुदायिक विद्यालयमा छात्रवृत्ति बितरण भएन

  ०७६ असार २३ गते

आर्थिक वर्ष २०७५/७६ बित्न लाग्दा पनि पर्साको अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरूले छात्रवृत्ति पाउन सकेका छैनन् ।

ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, पोखरीया नगरपालिका, कालिकामाई, धोवीनीलगायतका गाउँपालिकाका सामुदायिक विद्यालयमा आर्थिक वर्षको अन्तिमसम्म छात्रवृत्ति वितरण भएको छैन ।

जीराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले समयमै छात्रवृत्ति रकम सम्बन्धित विद्यालयको खातामा पठाइसकेको बताए ।

गाउँपालिका अन्तर्गतका प्रधानाध्यापकहरूलाई असारको पहिलो साता वितरण गर्न निर्देशन दिएकोमा किन कार्यान्वयन हुन सकेन भन्ने विषयमा ताकेता गर्ने अधिकृत गिरीले बताए ।

छात्रवृत्ति रकम हिनामिना गर्ने नियतले वितरण नभएको अभिभावकहरूले आरोप लगाएका छन् । विगतमा शिक्षा विकास तथा समन्वय एकाई पर्साले प्रत्येक वर्षजेठ २५ गते प्रति विद्यार्थी ४ सय रुपियाँका दरले छात्रवृत्ति वितरण गर्ने गरेको थियो ।

कतिपय स्थानीय तहले समयमा छात्रवृत्ति नपठाएकाले समयमा छात्रवृत्ति वितरण नभएको ठोरी स्रोत केन्द्रका पूर्व स्रोत व्यक्ति छोटेलाल साहले बताए ।

गाउँपालिकाले समयमा कुनैपनि कार्यक्रम सञ्चालन नगर्दा विद्यालय प्रशासनलाई काम गर्न असहज भएको यादवको भनाई छ ।


केसी लामिछाने