पर्व मनाउने तयारीमा रहेका एक परिवारको घरमा साहुको डोजर

  ०७६ साउन २८ गते

मुस्लिम धर्माम्बलम्बीहरू बकर इद पर्व (इद ऊल जोहा) मनाउने तयारी गरिरहेको बेला महोत्तरीमा एक मुस्लिम परिवारलाई ऋण नतिरेको निहुँमा डोजर लगाएर घर भत्काई घरबारविहीन बनाएको घटना सार्वजनिक भएको छ ।

भङ्गहा नगरपालिका-१ कबिलासका मोहम्मद पनित शेषको परिवारलाई साना बालबालिका सहित पर्वको मुखैमा घरबार विहीन बनाइदिएको छ ।

Photo20190813Mahottari (9)

उनलाई वैदेशिक रोजगारीमा पठाइँदाको खर्च असुल्न म्यानपावरका एजेन्टले शनिबार डोजर लगाएर घर भत्काइदिएका हुन् ।

घरबारविहीन बनेकी ४५ वर्षीया जाहिरा खातुनले रूँदै सुनाइन्-'हामी त भोलि मनाइने पर्व बकर इदको तयारीमा थियौँ । एक्कासी आएर घर भत्काइ दिए ।'

डोजरले घर भत्काइएपछि सडक छेउमा पाल टाँगेर नानीहरूलाई ओत्याएकी जाहिरा खातुनले भनिन्-' श्रीमान् विदेश मै हुनुहुन्छ । आएपछि हिसाबकिताब गर्ने थिएँ । तर, अहिले म माथि आपद आइलाग्यो ।'

घरमाथि डोजर चल्दा अन्नपात, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडा, सबै पुरिएका उनले बताइन् ।

जाहिराले भक्कानिँदै भनिन्-'घरमा एजेन्ट बद्री ठाकुरलाई दिन पतिले पठाएको १ लाख ५० हजार रुपियाँ र आफ्नो बुबाले दिएको ५० हजार रुपियाँ समेत २ लाख रुपियाँ, केही सुनचाँदीको गरगहना र खाद्यान्न, लत्ता कपडा समेत निकाल्न नदिएर डोजर लगाएर घर भत्काइ दिए ।'

भङ्गहा नपा-१ कै बद्री ठाकुरले प्रहरी/प्रशासनको मद्दतले शेषको घर डोजर लगाएर भत्काउँदै ठाउँ खाली गराएको छिमेकीहरू बताउँछन् ।

'बद्री ठाकुरको घरमा साउन २५ गते बिहानैदेखि प्रहरी र सुकिलामुकिला लुगा लगाएकाहरूको भोज भतेर चलिरहेको थियो ।'-सोही बस्तीको विद्यालयका एक शिक्षकले भने-'पछि पो थाह भो जाहिराको घर उजाड बनाउन पो जम्मा भएका रहेछन् त!'

पनित रोजगारीका लागि विदेश गएपछि उनलाई पठाएको खर्च भन्दै ठाकुरले पनितका बाबु अहमद शेषसँग कागज बनाएका र त्यही कागजबाट घर उठिवास लगाएको जाहिराले बताइन् ।

'मेरो पतिले पैसा दिएरै विदेश जानुभएको हो । वहाँ नभएपछि मेरा सोझा ससुरालाई धम्क्याएर कागज गराउनु भएछ । यो कुरा धेरैपछि खुल्यो ।'-जाहिराले भनिन् ।

पीडित जाहिराका अनुसार पति शेष अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा छन् । आठ वर्षअघि एजेन्ट ठाकुरले शेखलाई २० हजार रुपियाँमा राम्रो कमाइ हुने कम्पनीमा पठाइदिने बताएपछि पनित विदेश गएका हुन् ।

शेषले त्यहाँ राम्रो काम र तलब नपाएको गुनासो गरेपछि ससुरा अहमद शेषसँग एजेन्ट ठाकुरले छलेर ८५ हजार रुपियाँको तमसुक बनाएको जाहिराको आरोप छ ।

छोरोलाई कमाउन विदेश पठाइदिने भन्दै आठ वर्षअघि बद्रीले जाहिराका ससुरा अहमदसँग करिब ८५ हजार रुपियाँ लिएको कपाली तमसुक बनाएका थिए । जाहिराका ससुराले २०६८ भदौ १५ गते सो ऋण लिएको उल्लेख छ ।

अदालतमा साहुले दिएको उजुरीमा २ लाख ५५ हजार ऋण लिएको दावी गरिएको छ । 'साँवा र ब्याज सहित करिब १० लाख माग्दा तिर्न सकिनँ ।'-जाहिराले रुँदै भनिन् ।'

शेषको सम्पतिको नाममा पाँचधुर घडेरीमा रहेको कच्ची घर थियो । पनित शेषका चार छोरी र दुई छोरा छन् ।

जाहिराका अनुसार केही वर्षअघि एजेन्ट ठाकुर राति-राति घरमा पसेर ऋण छोडिदिने भन्दै राख्ने गरेका अनैतिक सम्बन्धको प्रस्ताव आफूले नमान्दा यो रिस फेरेका हुन् ।

ठाकुरले भने शेष परिवारको घर आफूले नभई अदालतले भत्काएको बताए । उनले भने-'मैले कागज अनुसारको मुद्दा अदालतमा हालेँ । फैसला भयो । अहिले त्यही आफ्नो फैसला महोत्तरी जिल्ला अदालतले कार्यान्वयन गराएको हो । प्रहरी, प्रशासन र डोजर अदालतकै आदेशमा आएका हुन् । मैले केही गरेको छैन ।'

घर भत्काउन नजिकको रामगोपालपुर र लोहारपट्टी स्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालित भएपनि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले भने अनभिज्ञता देखाएका छन् ।

'पीडितबाट कुनै उजुरी आएको छैन । त्यसैले कुनै कारवाही हुने कुरा भएन । उजुरी आए खोजीनीति गरिने छ ।'-एसपी अधिकारीले भने ।

भङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जीवकुमार साहले आफूले दुवै बीचको लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको बताए । 'पछि डोजर लगाएर घर भत्काएको घटना सुन्दा दुःख लागेको छ ।'-उनले भने ।

मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले कसैलाई पनि घरबारविहीन बनाउन नहुने भन्दै यस सन्दर्भमा छानबिन गरिनु पर्ने र दोषिमाथि कारवाहीका लागि माग गरे ।

1

1

1

1

1

1

1

1

1


अजयकुमार साह