परिवारका सदस्यबाट आगो लगाएर घाइते भएकी निर्मलाको उपचारको क्रममा मृत्यु

  ०७६ वैशाख १७ गते

शहीदनगर नपा–१ पुरवारी टोल चिरैयाकी २० वर्षीया निर्मला यादवको उपचारका क्रममा वैशाख १६ गते मृत्यु भएको छ ।

२४ वर्षीय पति मुकेश गोइत यादवले निर्मलाको शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा घाइते भएकी थिइन् ।

काठमाडौँको किर्तिपुरस्थित बर्निङ् अस्पतालमा उपचारको क्रममा वैशाख १६ गते निर्मलाको मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

गत वैशाख ५ गते दिउँसो घरमा कोही नभएको मौका छोपेर पति मुकेशले निर्मलाको हातगोडा बाँधेर शरीरमा मट्टितेल खन्याई आगो लगाएको पीडित पक्षको आरोप छ ।

आगोबाट निर्मलकाको शरीरको ७० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी थिइन् । घटनापछि गम्भीर घाइते निर्मलालाई जनकपुर अञ्चल अस्पतलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ लगिएको थियो ।

निर्मलाको १० महिनाअघि मात्र समाजिक परम्परा अनुसार मुकेशसँग विवाह भएको थियो । घरमा कोही नभएको मौका छोपी मुकेशले कुटपिट गर्दै निर्मलाको हातगोडा बाँधेर बाकसमा रहेको कपडाहरू निकालेर शरीरमा मट्टितेल छर्केर आगो लगाएको निर्मलाको माइती पक्षको आरोप छ ।

आगो लगाएपछि निर्मला चिच्याउँदा छरछिमेकहरूले उद्धार गरेको भएपनि त्यतिबेलासम्म निर्मलाको शरीरका अधिकांश भाग जलिसकेको थियो ।

वैशाख ५ गतेको दिन बिहान मुकेश र निर्मलाबिच झगडा भएको र सोही विषयलाई लिएर मट्टितेल छर्केर आगो लगाइ मार्ने प्रयास गरेको हुन सक्ने स्थानीयको भनाई छ । घटना पश्चात आरोपित मुकेश फरार भएका छन् ।

माइती पक्षले निर्मलालाई हत्या गर्ने प्रयास गरेको भन्दै मुकेश, ससुरा झरी गोइत यादवलगायतविरूद्ध इलाका प्रहरी कार्यालय सबैलामा वैशाख ९ गते उजुरी दिएको छ ।


विनोदकुमार रविदास