परिचय पत्र नपाउँदा मुक्त कम्लहरीहरू शिक्षाबाट बञ्चित

  ०७७ असार १५ गते

कम्लहरी मुक्त भएको नौ वर्ष पुगिसक्दा पनि मुक्त कम्लहरीहरूको परिचय पत्र नबन्दा शिक्षाबाट बञ्चित हुनु परेको छ ।

सरकारले ०६७ असार १३ गते कम्लहरी मुक्त घोषणा गरेको गरेको थियो । तत्कालै सरकारले शिक्षा र अन्य अवसर सहित पुनर्स्थापनाको लागि मुक्त कम्लहरीलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको भएपनि पुर्णरुपमा कार्यान्वयन हुन नसक्दा मुक्तकम्लहरीहरू समस्यामा परेका हुन् ।

मुक्तकम्लहरी विकास मञ्च बर्दियाको तथ्याङ्क अनुसार बर्दिया जिल्लामा २ हजार ४ सय ९५ जना मुक्तकम्लहरी रहेका छन् । मुक्तकम्लहरी छानविन समितिले ८ सय जनालाई परिचय पत्र दिने निर्णय भएकोमा हालसम्म  १ सय ५८ जनाले मात्र परिचय पत्र  पाएका छन् ।  परिचय पत्र दिने निर्णय भएका मध्ये ६ सय ४२ जना मुक्त कम्लहरीले अझै पनि परिचय पत्र पाउन सकेका छैनन् ।

परिचय पत्र नहुँदा उनीहरू छात्रवृत्ति र विभिन्न सेवा सुविधाबाट बञ्चित हुन परेको मुक्त कम्लहरी विकास मञ्च बर्दियाकी अध्यक्ष जुगरीकुमारी थारुले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । परिचय पत्र नुहँदा  राज्य तथा अन्य सहयोगी निकायले दिन खोजेको सहयोग लिनमा समस्या भएको छ । मुक्त कम्लहरी भएको प्रमाण खोज्ने गरेको र पेश गर्न नसक्दा अवसरबाट बञ्चित हुन परेको दुखेसो मुक्त कम्लहरीहरूको रहेको छ ।

जिल्ला समन्वय समितिका संयोजक शङ्करबहादुर थारूको अध्यक्षतामा मुक्तकम्लहरी पुनर्स्थापना समितिको ०७६ चैत ७ गते बसेर परिचय पत्र दिने निर्णय गरेको भएपनि  कार्यान्वयन हुन सकेको छैन  ।

मालपोत तथा भुमिसुधार कार्यालयका  प्रमुख भीमबहादुर खत्रीले भुमिसुधार कार्यालयमा २ हजार ५ सय जना मुक्तकम्लहरी दर्ता रहेकोमा  १ सय ५८ जनाले परिचय  पाएको बताउनु भयो । बाँकी रहेकालाई निर्देशिका र कार्यविधि अनुसार चैत दोस्रो हप्तादेखि स्थानीय तहले वितरण गर्ने तयारी भएपनि लकडाउनका कारण स्थगित भएको प्रमुख खत्रीले बताउनु भयो । वितरणका लागि  ७ सय परिचय पत्र तयार रहेको र लकडाउन खुल्ने बित्तिक्कै वितरण गरिने खत्रीले बताउनु भयो ।

यसैगरी दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार आठौं मुक्ति दिवसका अवसरमा मुक्त कम्लहरी विकास मञ्चले शुभकामना व्यक्त गर्दै मुक्त कम्लहरीहरूको पुनर्स्थापनामा ध्यान दिन सरकारसँगग माग गरेका छन् ।

पूर्व कम्लहरीहरूको साझा सङ्गठन मुक्त कम्लहरी विकास मञ्चका केन्द्रीय अध्यक्ष शान्ति चौधरीले शुभकामना सन्देश दिदै सरकारले कम्लहरी मुक्त घोषणा गरेपनि पूर्व कम्लरीको पुनर्स्थापनामा आशलाग्दो काम नगरेको बताउनु भयो । इन्सेक जिल्ला प्रतिनिधिसँग टेलिफोन सम्पर्कमा अध्यक्ष चौधरीले कागजमा घोषणा भएपनि व्यवहारमा पूर्व कम्लहरीहरूको पुनर्स्थापना हुन सकिरहेको छैन, पुनर्स्थापनाको काम यस्तै अवस्थामा रहे पुनःकम्लहरी बस्ने अवस्था आउने बताउनु भयो ।

अध्यक्ष चौधरीले लामो समयसम्म  पुनर्स्थापना हुन नसक्दा पूर्व कम्लहरीहरू पढाई छोडेर मजदुरीमा फर्किने अवस्था आएको बताउनु भयो । उहाँले पठन पाठनको व्यवस्था तथा सीप र दक्षता विकास गर्दै आय आर्जनमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो ।

दाङलगायत पश्चिम नेपालका बाँके, बर्दिया , कैलाली र कञ्चनपुरमा गरी १२ हजार ७ सय ६९ मुक्तकम्लहरी छन् ।  जसमध्ये हाल १ हजार ३ सय ५९ जना विद्यालयमा अध्ययनरत रहेको, दाङ, कैलाली र कञ्चनपुरमा रहेका छात्रावासमा रहेर १ सय ६६ पूर्वकम्लरीहरूले अध्ययन गरिरहेको मञ्चले जनाएको छ ।

यसैगरी आत्मनिर्भरताका लागि ४३ वटा सहकारी स्थापना गरी १२ हजार ९ सय ४९ जना सहकारीमा आवद्ध भएको र त्यसमध्ये ३ हजार २५ जनाले सहकारीमार्फत व्यवसाय गरिरहेका छन् । मुक्त कम्लहरीहरूले स्वरोजगारका लागि पर्याप्त लगानी, सीपका साथै उचित पुनर्स्थापनाको प्रतिक्षामा रहेको केन्द्रीय अध्यक्ष शान्ति चौधरीले बताउनु भयो ।

मुक्तकम्लहरी विकास मञ्चले अहिलेसम्म ४ हजार ७ सय ९१ जनाले सरकारी परिचयपत्र पाएपनि अरूले पाउन नसकेको भन्दै तत्काल परिचय पत्र उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज