परिचयपत्र नहुँदा अपाङ्गता भएका बालबालिका छात्रवृत्तिबाट वञ्चित

  ०७४ पुस २५ गते

अपाङ्गता भएका बालबालिकाहरूको परिचय-पत्र नहुँदा सरकारले वर्षेनी प्रदान गर्ने छात्रवृत्तिको रकम लिनबाट वञ्चित हुने गरेका छन् । चालु शैक्षिक सत्र ०७४ का लागि सरकारले २ सय ५० जना विद्यार्थीका लागि ४६ लाख ४१ हजार रुपियाँ पठाएको छ । यसमध्ये ३६ लाख ३ हजार रुपियाँ भने अपाङ्गता भएका बालबालिकाकालागि छात्रवृत्तिमा मात्रै छुटि्टएको छ ।

बाँकी छात्रवृत्ति बाहेकको रकममध्ये सदरमुकामस्थित बालमन्दिर, बरबोटेस्थित अमर उच्चमावि र सूर्योदय नगरपालिकास्थित करफोक विद्यामन्दिरमा रहेका आवाशीय विद्यार्थीको स्याहारसुसार गर्ने आया, स्रोत शिक्षक र लुगाकपडालाई ९ लाख ६० हजार रुपियाँ तथा लेखाजोखा केन्द्रलाई ७८ हजार रुपियाँ दिइने गरेको शिक्षा कार्यालयका शाखा अधिकृत निर्मल ढुङ्गेलले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालय अन्तर्गत वितरण हुने यो छात्रवृत्तिका लागि पहिलो चौमासिकमा ८३ जना बालबालिकाले पाइसकेका छन् । दोस्रो चौमासिकमा मङ्सिर यता ४० जनाले मात्र निवदेन दिएका र उनीहरूलाई छात्रवृत्ति दिन बाँकी रहेको कार्यालयका शाखा अधिकृत ढुङ्गेलले बताए । अझै १ सय २७ ओटा कोटा भने अपाङ्गता भएका विद्यार्थीका लागि खाली नै छ ।

तर, दुर्गमका सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका करिब २ सय भन्दा बढी बालबालिका परिचयपत्र नभएकै कारण छात्रवृत्तिबाट वञ्चित भएका पाइएको छ । कतिपयलाई छात्रवृत्तिको विषयमा जानकारी नहुने र जानकारी भएपनि सोझै अविभावकका हातसम्म नजाने हुँदा पनि अविभावकले परिचयपत्र बनाउन चासो नदिएको शिक्षा कार्यालयका लेखाजोखा संयोजक प्रकाश चापागार्इं बताउँछन् ।

'रातो र नीलो रङको परिचयपत्रको भत्ता पाइने र छात्रवृत्तिको रकम कम भएकाले पनि चासो नदिएको बुझिन्छ ।'-चापागाईंले भने-'कतिपय विद्यालयले पनि छात्रवृत्ति पाइन्छ, परिचयपत्र बनाइदेउ भनेर जानकारी नदिने कारणले पनि छात्रवृत्तिका लागि विद्यार्थी कम भएको हो । अविभावक र शिक्षक दुवैलाई अझै सचेत गराउन जरूरी देखिएको छ ।'


कोकिला ढकाल