परिक्षार्थी र प्रहरीबिच झडप, विद्यार्थी र प्रहरी दुवैतर्फका घाइतेको उपचार हुँदै

  ०७५ चैत १७ गते

माध्यमिक शिक्षा परीक्षा एसइइ स्थगित भएको विरोधमा जितपुर सिमरा उपमहानगरपालिक–७ जितपुर सडक खण्डमा चैत १६ गते बिहान ७ बजेदेखि परिक्षार्थी र प्रहरीबिच झडप हुँदा भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौँ सेल आश्रुग्यास र गोली चलाएको छ ।

प्रहरीको लाठी प्रहारबाट जितपुर सिमरा उपमहानगरपालिक–५ बकुलियामा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत परीक्षार्थी १७ वर्षीया रमिता चौधरी र सोही ठाउँका ३५ वर्षीय हरिशंकर गुप्ता घाइते भएका छन् । दुवै जनाको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

झडपमा परी प्रहरी जवान लगनदेवप्रसाद यादव, गगनदेवप्रसाद यादव, निरु श्रेष्ठ, कार्यालय सहयोगी रामजी सहनी घाइते भएको इलाका प्रहरी कर्यालय जितपुरका हवल्दार निरज पाण्डेले बताए ।

घाइते प्रहरीहरुको उपचार अल्पाइन अस्पताल सिमरामा भइरहेको हवल्दार पाण्डेले बताए । परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई सञ्चालन गर्ने क्रममा परीक्षार्थीहरुले ढुंगामुढा गरेपछि झडप भएको हो ।

परीक्षार्थीले सशस्त्र प्रहरीको ना १ झ ७१२ नम्बरको जीपमा आगजनी गर्दा गाडीको पछाडिको भागमा क्षति पुगेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय जितपुर कार्यालयको झ्यालको सिसा फुटेको छ । आक्रोशित परीक्षार्थीहरुले बजारको सीसी क्यामरासमेत फुटाएका छन् ।

त्यसैगरी कलैयाको मुख्य चोकमा गरेको प्रदर्शनमा प्रदर्शनकारीले प्रहार गरेका ढुंगा लागेर डिएसपी अशोकप्रसाद कुर्मी र प्रहरी जवान विजय राययादव रहेका छन् । उनीहरुको उपचार जिल्ला अस्पताल कलैयामा गरिएको छ ।


भोलानाथ पौडेल