पत्रकार हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन २५ गते

जितपुरसिमरा उमनपा–२० इनर्वासिरा निवासी ४२ वर्षीय पत्रकार वीरेन्द्रप्रसाद साहलाई बारागढी गाउँपालिका–६ गढहल निवासी ५१ वर्षीय कुन्दन फौज्दारले ०६४ असोज १८ गर्ते करैयामाई गाउँपालिका–७ पिपरा बजारबाट अपहरण गरी जितपुरसिमरा उमनपा–१६ टाँगियावस्तीको जङ्गलमा हत्या गरी खाल्टो खनी गाडेको आरोपमा जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाद पङ्गेनीको कमाण्डमा रहेको प्रहरीले ०७६ फागुन २५ गते बिहान दुई बजेको समयमा फौज्दारको घरबाट गिरफ्तार गरेको एसपी पङ्गेनीले बताउनु भएको छ ।

विरेन्द्र प्रसाद साहको अपहरण भएको ३४ दिनपछि ०६४ कात्तिक २२ गते राति जितपुरसिमरा उमनपा–१६ टाँगियावस्तीको पूर्व दक्षिण तर्फको जङ्गलमा खाल्टो खनेर गाडेको अवस्थामा शव फेला परेको एसपी पङ्गेनीले बताउनु भयो ।

अपहरण गरी हत्या गरेको आरोपमा जिपपुरसिमरा उमनपा–२० इनर्वासिरा निवासी ५० वर्षीय मेनेजर गिरि बारा जिल्ला अदालतका आदेशमा ११ वर्ष कैद भुक्तानी गरि रिहा भएको जिल्ला अदालतका श्रेस्तेदार कौशलेस ज्ञवालीले बताउनु भयो ।

बारागढी गाउँपालिका–३ नयकाटोल निवासी ४९ वर्षीय रामएकवाल सहनी अपहरण र हत्या आरोपमा जिल्ला अदालतको फैसला अनुसार कारागार कार्यालय वीरगंजमा कैद भुक्तान गरिरहेको एसपी पङ्गेनीले बनाउनु भयो ।

मुख्य आरोपित कुन्दन हत्या आरोपमा फरार रहेकाले जिल्ला अदालतले मुद्दा मुल्मुतवीमा राखेको थियो । जिल्ला प्रहरी कार्यालयले ०७६ फागुन २५ गते बिहान ११ बजे पत्रकार सम्मेलन गरि थप जानकारी दिने एसपी पङ्गेनीले बताउनु भएको छ ।


भोलानाथ पौडेल