पत्रकार र मिडिया उद्योगमाथि निषेधात्मक कार्य गर्न बाध्य हुने प्रदेशमन्त्रीको धम्की !

  ०७६ वैशाख ३१ गते

नेपाल सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवमाथि एभिन्यूज टेलिभिजनको एक अन्तरर्वार्तामा प्रस्तोताले दुव्र्यवहार गरेको भन्दै प्रदेश २ का मन्त्रीले नै निषेधात्मक कार्य गर्ने धम्की दिएका छन् ।

प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका समाजवादी पार्टी नेपालको तराई मधेस प्रदेश कमिटी प्रदेश २ का अध्यक्ष विजय यादवले वैशाख ३१ गते एक विज्ञप्ति जारी गर्दै पत्रकार र मिडिया उद्योगमाथि निषेधात्मक कार्य गर्न बाध्य हुने धम्की दिएका छन् ।

समाजवादी पार्टी नेपालका प्रदेश २ का अध्यक्ष यादवले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री यादवलाई दुव्र्यहार गर्ने पत्रकारलाई कारवाहीको लागि सम्बन्धित निकायसँग माग गर्दै त्यस्तो नगरे निषेधात्मक कार्य गर्न बाध्य हुने उल्लेख गरेका छन् ।

मन्त्री यादवले जारी गरेको विज्ञप्तिमा काठमाडौँबाट प्रसारण हुने एभिन्यूज टेलिभिजनको सकस राजनीति कार्यक्रममा अन्तरवार्ता लिने पत्रकार शुसील पाण्डेले असभ्य र अशिष्ट भाषाको प्रयोगका साथै मन्त्री यादवलाई अपमान गरेको भन्दै उनलाई कारवाही गर्न प्रेस काउन्सिल नेपालसँग मागसमेत गरेका छन् ।

पत्रकार पाण्डेलाई कारवाही नगरिए त्यस्ता मिडियाविरूद्ध निषेधात्मक कार्य गर्न बाध्य हुने भनी विज्ञप्तिमा धम्कीपूर्ण भाषा उल्लेख गरिएको छ ।

मिडियामाथि चौतर्फी रुपमा प्रहार भइरहेको अवस्थामा यस्तो धम्कीपूर्ण विज्ञप्ति आउनु दुखद् भएको नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य शैलेन्द्र झाले बताए ।

केन्द्रिय सदस्य झाले भने–‘प्रदेश २ सरकारको वहालबाला मन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तिले मिडियालाई निषेधात्मक कार्य गर्न बाध्य हुने जस्ता अभिव्यक्ति दिनु अलोकतान्त्रिक चरित्रको प्रदर्शन हो ।’


अजयकुमार साह