पत्रकार यादव पाँच घण्टा पछि रिहा, पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

  ०७७ वैशाख २९ गते

नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा पत्रकारहरूले पर्सा प्रहरीले ज्यादती गरेको भन्दै वीरगंजस्थित घण्टाघरमा वैशाख २९ गते सामाजिक दुरी कायम गर्दै आधा घण्टा धर्ना दिएका छन् । वीरगंजको सामुदायिक रेडियो नारायणी एफएमका पत्रकार तिवारी यादवको गिरफ्तारी विरुद्ध जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारहरूलाई प्रहरीले अपमानपूर्ण व्यवहार गरेकाले महासंघ आन्दोलित भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले पर्सा प्रहरीले ज्यादती गरेको भन्दै त्यसविरुद्ध वैशाख २८ गते नै आन्दोलनको घोषणा गरेको थियो । सोही अनुरूप आज बिहान ८:०० बजे पत्रकार महासंघ पर्साले घण्टाघरमा आधा घण्टा धर्ना दिएको हो । धर्ना कार्यक्रममा पत्रकार महासंघ प्रदेश संयोजक दिपेन्द्र चौहान र जिल्ला अध्यक्ष श्याम बन्जाराले प्रहरी ज्यादतीको विरोध गर्नु भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साको समाचार बहिष्कार गर्ने समेतको निर्णय गरेको छ । नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी धिरज प्रताप सिंहको आगमनमा पर्साका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका पदाधिकारीको बैठक साविकको अञ्चल प्रहरी कार्यालयमा बसेको थियो । बैठकबाट फर्केर आएपछि पत्रकारसँग सम्वाद हुने समस्याले निकास पाउने आसमा बसेका सञ्चारकर्मीलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख गङ्गा पन्तले वास्ता नगरेपछि अपमानित महशुस गरेका पत्रकारले आन्दोलनको घोषणा गरेका हुन् ।

वीरगंजको सामुदायिक रेडियो नारायणी एफएमकै प्रवेशद्वारबाट पत्रकार यादवलाई प्रहरीले वैशाख २८ गते गिरफ्तार गरी पाँच घण्टापछि सोही दिन रिहा गरेको थियो । दूव्र्यवहार गर्ने प्रहरीलाई कारवाही नभएसम्म आन्दोलन गर्ने पत्रकार महासंघ पर्साले जनाएको छ । पत्रकार यादवको मोबाइल अहिले पनि प्रहरीले नै राखेको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ ।


केसी लामिछाने