पत्रकार दुर्व्यवहार घटनाका आरोपित प्रहरीलाई कारवाहीको माग

  ०७७ पुस १५ गते

नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवम् गोरखापत्र दैनिकका सम्वाददाता तथा कल्याण पोष्ट दैनिकका सम्पादक खडक नपा–८ की ३५ वर्षीया माला कर्ण र कल्याण पोष्ट दैनिकका सह–सम्पादक छिन्नमस्ता गाउँपालिका–३ सखडाका ३० वर्षीय ध्रुवकुमार मण्डललाई पुस १४ गते दिउँसो समाचार सङ्कलनका क्रममा प्रहरी हवल्दार ३० वर्षीय रामनारायण साहले दुर्व्यवहार गरेको भन्दै सोही दिन एसपी राजेन्द्रप्रसाद धमलालाई पीडित कर्णले मौखिक उजुरी गर्नु भएको छ ।

यसैबिच नेपाल पत्रकार महासंघ सप्तरीले पुस १४ गते एक विज्ञप्ति जारी गरी प्रहरीले गरेको दुव्र्यवहारको भत्र्सना गर्दै गम्भीर आपत्ति जनाएको छ ।

पत्रकारहरुलाई शान्तिपूर्ण वातावरणमा रिपोर्टिङ गर्ने वातावरणको अनुभूति हुनुपर्नेमा सुरक्षाकर्मीबाटै दुर्व्यवहार भएको कार्यप्रति भत्र्सना गरिएको छ ।

अराजक रुपमा प्रस्तुत भइ दुर्व्यवहार गर्ने प्रहरीलाई हदैसम्मको कारवाही गर्न विज्ञप्तिमा जोडदार माग गरिएको छ ।

राजविराजस्थित गजेन्द्र चौकमा पत्रकारद्वय चढेको मोटरसाइकललाई प्रहरीले रोकी साँचो खोस्न खोज्दा दिन नमानेपछि अभद्र व्यवहार गरेको पत्रकार मण्डलले आरोप लगाउनु भयो ।

प्रतिनिधि सभा विघटनका विरुद्ध राजविराजमा भइरहेको जुलुस र सभाका कारण मोटरसाइकल लैजान रोक्न खोज्दा पत्रकारले गालीगलौज गरेको प्रहरीको आरोप छ ।

एसपी राजेन्द्रप्रसाद धमलाले घटनाबारे बुझ्ने काम भइरहेको र प्रहरी दोषी पाइए कारवाही गरिने बताउनु भयो ।


मनोहरकुमार पोखरेल