पत्रकार डेकेन्द्र थापा प्रकरण– मुख्य आरोपितमध्ये एक गिरफ्तार परेपछि मुद्दा जाग्यो

  ०७६ फागुन २१ गते

पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपित चार जना मध्ये एक दुल्लू नपा–६ छिउडीपुसाकोटका ३९ वर्षीय अरुण भन्ने बमबहादुर खड्का गिरफ्तार परेपछि कर्तव्य ज्यान सम्वन्धी मुद्दा मुल्तवीबाट जागेको छ ।

हत्याका मुख्य आरोपित गिरफ्तार परेको समयमा मुद्दा जगाउन सकिने दैलेख जिल्ला अदालतको अघिल्लो फैसला अनुसार फागुन २० गते हालसम्म गिरफ्तार नपरेका अरु तीन जना समेतको मुद्दा जागेको अदालतका सूचना अधिकारी बिनोद आचार्यले बताउनुभयो ।

शान्ति प्रक्रियापछि पनि गिरफ्तार परिने डरले लुकीछिपी बस्दै आएका अरुण भन्ने बमबहादुर खड्कालाई कैलाली प्रहरीले गिरफ्तार गरी अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा जिम्मा छोडेपछि फागुन २० गते दैलेख जिल्ला अदालतमा पेश गरिएको थियो ।

फागुन २० गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको आदेशबाट अरुण भन्ने बमबहादुर खड्कालाई कारागार चलान गर्ने र मुल्तवीमा रहेको मुद्दा जगाइएको जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।

२०६१ साउन २७ गते हत्या गरिएका पत्रकार थापाको शव गाडिएको ठाउँ नौमूले गाउँपालिका–३ द्वारीबाट चार वर्षपछि कंकाल निकाली दाहसंस्कार गर्नुसँगै २०६५ भदौ १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा पीडित पक्षले नौ जना बिरुद्ध किटानी जाहेरी दिएका थिए ।

घटनाका विषयमा आरोपित मध्येका पाँच जनालाई २०६९ पुस २० गते प्रहरीले गिरफ्तार गरेर चलाएको मुद्दामा २०७१ मङ्सिर २१ गते दैलेख जिल्ला अदालतले गिरफ्तार भएका पाँच जनालाई पत्रकार थापाको शव गाड्न मात्र सघाएको भन्दै कसूर अनुसार बढीमा दुई वर्ष कैद गरेको थियो ।

तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले त्यसबेला थुनामा रहेका निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो ।

दुई वर्षको कैद सजाय तोकिएका निरक घर्ती पनि जिल्लाको फैसला हुँदा एक वर्ष सात महिना एक दिन कैदमा बसिसकेका थिए भने त्यसपछि चार महिना २९ दिन कैदमा बसेर उनी पनि थुनामुक्त भएका थिए ।

जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले हत्या घटनाका मुख्य आरोपितहरू चार जना साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नपा–६ का अरुण भन्ने बमबहादुर खड्का र केशव खड्का साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर नपा–३ का भक्तिराम लामिछाने फरार रहेको कारण गिरफ्तार परेका बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो ।

पत्रकार थापालाई नियन्त्रणमा राखेको बेला गरिएको कुटपिटको कारण ज्यान गएको भन्दै घटनाको चार वर्षपछि २०६५ भदौ १२ गते डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो ।
जिल्ला अदालतको फैसलामा २०६९ पुसमा गिरफ्तार परेकाहरूलाई दिइएको सजाय भएको भन्दै वादी पक्ष र आफूहरूले शव गाड्न मद्दत गरेकै कारण दोषी करार नहुनुपर्ने भनी प्रतिवादीहरूले गरको पुनरावेदन अदालत सुर्खेतमा परेका निवेदन सन्दर्भमा तत्कालिन पुनरावेदन अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र कुमारप्रसाद पोखरेलको इजलासले २०७० असार २० गते जिल्लाकै फैसला सदर गरेको थियो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका पत्रकार थापालाई मुहान मर्मतका लागि सिमेण्ट र निर्माण सामग्री लिइ गएको बेला नारायण नपा–५ भैंसेखोरबाट २०६१ असार १२ गते तत्कालिन भूमिगत नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए ।

अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते दिउँसो साविकको द्वारी गाविस–१ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाको कारण ज्यान गएको प्रहरी अनुसन्धान र अदालतमा प्रत्यक्षदर्शीहरूले खुलाएका थिए ।

तत्कालिन भूमिगत नेकपा माओवादीले चलाएको सशस्त्र द्वन्द्वको चरम उत्कर्षको समयको घटनामा पत्रकार थापाको हत्याको घटनाले सर्वत्र आलोचना भएको कारण परिवारलाई शव देखाउन चाहेको थिएन ।

द्वन्द्वको समयमा शवको खोजी गर्न नसकेका परिवारलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा घटनाको चार वर्षपछि २०६५ साउनमा थापाको शव गाडिएको ठाउँ पत्ता लागेपछि राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासङ्घको सक्रियतामा उत्खनन् गरी शवको कङ्काल निकाली परिवारजनले २०६५ साउन १८ गते हिन्दू संस्कार अनुसार दाहसंस्कार गरेका थिए ।

पत्रकार थापाको हत्या गरिएको खवर प्राप्त भएपछि माओवादी पक्षसँग शव माग्दा दिन नचाहेको कारण कुशको शव बनाई २०६१ साउन ३२ गते काजक्रिया गरिएको थियो । पत्रकार थापाकी पत्नी, दुई छोरी र एक छोरा छन् ।

हत्या हँुदा पत्रकार थापा ३३ वर्षको हुनुहुन्थ्यो । राम्रो उद्घोषण कला, लोक देउडाका गायक र राजनीतिमा सक्रियतासँगै मानव संसाधन केन्द्र नामक संस्थाका अध्यक्षको हैसियतले उहाँ समाज सेवा गर्दै आउनुभएको थियो । थापाका परिवारलाई न्याय प्राप्तीका लागि राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल पत्रकार महासङ्घ लगायतले सघाएका थिए ।

20200304 Dailekh dekendra  DEKENDRA III


अमर सुनार