पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ २० गते

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्य कक्षमा समाचार सङ्कलन गर्न गएका पत्रकारहरूलाई कुटपिट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उमनपा–४ महाविरचोक निवासी रुफटप होटलका सञ्चालक ३८ वर्षीय धर्मेन्द्र साहलाई माघ १९ गते गिरफ्तार गरेको छ ।

पुस २२ गते जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण घटनाबारे प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्य कक्षमा कुटपिट तथा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रमाथि दुर्व्यवहार गरिएको थियो ।

पत्रकार महासंघ धनुषाका अध्यक्ष मिश्रले आफुमाथि अमानवीय व्यवहार तथा दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा व्यवसायी धर्मेन्द्र साह, व्रजकिशोर सिंह र गंगाप्रसाद साहको नाममा किटानी जाहेरी दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतले जानकारी दिनु भएको छ । अन्य दुई आरोपितको खोजी कार्य भइरहेको एसपी बस्नेतले बताउनु भएको छ ।

पुस २२ गते जनकपुरधाम उमनपाका मेयरको प्रतिक्रिया लिन पुगेका कान्तिपुर टेलिभिजन धनुषाका संवाद्दाता अमरकान्त ठाकुर, उज्यालो ९० नेटवर्कका संवाद्दाता सुभाष कर्ण, देश सञ्चार डट कमका संवाद्दाता राजा झा, एबीसी टेलिभिजन धनुषाका संवाद्दाता सुमित मिश्र सहितका पत्रकारमाथि कुटपिट भएको थियो ।


दिपेन्द्रप्रसाद सिंह