पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासङ्घद्वारा प्रहरीमा उजुरी

  ०७६ जेठ १७ गते

गोरखापत्र दैनिका हुम्ला सम्वादाता, रेडियो कैलाश एफएम्का स्टेशन म्यानेजर र सिमकोट टाइम्सका सम्पादक सिमकोट गाउँपालिका–५ का ४० वर्षीय पत्रकार राजन रावतलाई अपरिचित फेसबुक आइडीबाट धम्की आएको भन्दै पत्रकार महासङ्घले प्रहरीमा उजुरी गरेको छ ।

पत्रकार रावतले जेठ १४ गते गोरखापत्र दैनिकमा प्रकाशन भएको अख्तियार गाउँपालिका स्तरमा भन्ने शीर्षकको समाचार आफ्नै फेसबुक वालमा शेयर गरेपछि कमेण्टमा loverman.3158 भन्ने फेसबुक आइडीबाट गालीगलौज र नकरात्मक कमेण्ट पोष्ट गरेको भन्दै जेठ १७ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष अर्जुन बोहोराले बताए ।

पत्रकारलाई पटकपटक अमर्यादित र अशोभनिय खालका गाली गलौज र पार्टीगत आक्षेप लगाएर धम्की दिने काम भइरहेकोले दोषी उपर अनुसन्धान गरी कारवाही माग गर्दै प्रहरीमा उजुरी गरिएको पत्रकार रावतले बताए ।

पत्रकारमाथि यस्ता व्यवहार गर्ने जोसुकैलाई अनुसन्धान गरी कारवाही गर्ने प्रहरी इन्स्पेक्टर हरिहर खड्काले बताए ।


नन्द सिंह