समाचार प्रसारणमा चित्त नबुझेपछि पत्रकारलाई धम्की

  ०७७ असार १५ गते

माउण्टेन टेलिभिजनका सप्तरी सम्वाददाता राजविराज नपा–४ का २७ वर्षीय दिवाकर साहलाई गहिल कन्ट्रक्सनका सञ्चालक राजविराज नपा–९ मलेठका ५१ वर्षीय भिमराज यादवले समाचार प्रशारणमा चित्त नबुझेपछि ज्यान मार्ने धम्की दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा असार १२ गते उजुरी दिनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ जनार्दन कट्टेलले जिल्ला प्रहरी कार्यालयलाई नियमानुसार आवश्यक कारवाही गर्न उजुरीसहित पत्र सोही दिन पठाएको बताउनु भयो ।

समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की दिएपछि शान्ति सुरक्षा कायम गरी जिउधनको सुरक्षा गरी पाउँ भनेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको पत्रकार साहले इन्सेक प्रतिनिधिलाई असार १४ गते जानकारी गराउनु भएको छ ।

माउण्टेन टेलिभिजनमा ०७७ असार ९ गते राजविराज नपा–९ मलेठस्थित राजविराज–रुपनी सडक खण्डमा ४८ लाख २८ हजारमा सम्पन्न हुनै लागेको ‘सहिद गेट’ निर्माणमा व्यापक अनियमितता र भ्रष्टाचार भएको समाचार प्र शारण भएको थियो ।

जनता समाजवादी पार्टीका नेता तथा सङ्घीय समाजवादी पार्टीका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका निकटतम् प्रतिद्वन्दी  भिमराज यादवले करिब ८१ लाख रुपियाँमा सहिद गेट तथा पार्क निर्माणको ठेक्का लिएका छन् ।

समाचार प्रसारण भएपछि असार ११ गते राति ९:४३ बजे यादवले ९८०४७३६१११ नम्बरको फोनमार्फत विभिन्न अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको साहले बताउनु भयो ।

सोही रातिदेखि मोटरसाइकलमा अपरिचित मानिसहरू घर वरिपरी आएर निगरानी गर्ने गरेकोले आफू र आफ्नो परिवारका सदस्यहरूको जिउज्यानमा हानी–नोक्सानी हुन सक्ने सम्भावना भएकाले आवश्यक कानुनी कारवाहीको माग गरेको उहाँले जानकारी दिनु भयो ।

जनता समाजवादी पार्टीका नेता एवम् निर्माण व्यवसायी यादवले असार १४ गते पत्रकार सम्मेलन गरी पत्रकारको नाममा पटक–पटक पैसा मागेर हैरान बनाउने र नदिँदा आफूद्वारा भइरहेको निर्माण कार्यसँग जोडेर झुठा समाचार सम्प्रेषण गरेको दावी गर्नु भएको छ ।

फोनमार्फत पटक–पटक तर्साउन थालेपछि आवेशमा आएर अपशब्द प्रयोग गरेको उहाँले स्वीकार्नु भयो ।

पत्रकार साहले भने आफूले यादवसँग समाचार बापत आर्थिक लेनदेनको कुरा पुष्टि भएमा सधैंका लागि पत्रकारिता छोड्ने दावी गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले दुवै पक्षलाई बोलाएर छलफल गराउने योजना रहेको बताउनु भयो ।


मनोहरकुमार पोखरेल