पत्रकारलाई कुटपिट गरेको आरोपमा दुई जना प्रहरी गिरफ्तार

  ०७६ असार २२ गते

नेपाल पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई असार २१ गते कुटपिट गरेको आरोपमा प्रहरीले राति जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा घर भएका ३० वर्षीय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती नपा–७ का २८ वर्षीय विकाससिंह स्याङतानलाई गिरफ्तार गरेको छ ।

कमलामाई नगरपालिका–६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आएर भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा नमानेको भन्दै कार्कीमाथि कुटपिट भएको पीडित पक्षको आरोप छ ।

हेलमेटले कुटेका कारण टाउकोमा गम्भीर चोट लागेको छ । बेहोस अवस्थामा रहेका कार्कीको उपचार सिन्धुली अस्पतालमा हुन नसकेपछि राति नै काठमाडौँ रिफर गरिएको सिन्धुली अस्पतालका डाक्टर सुमित्रा गौतमले बताइन् ।

डा. गौतमका अनुसार टाउकोमा गम्भीर चोट देखिएका कारण कार्कीलाई काठमाडौँ रिफर गरिएको हो । महासङ्घका पूर्व अध्यक्ष मिनकुमार दाहालसँगै खाजा खाइरहेका अध्यक्ष र दाहाल दुवैमाथि कुटपिट भएको तर दाहाललाई भने ठूलो चोट लागेको छैन ।

घटनापछि आरोपितद्वयलाई तत्काल गिरफ्तार गरी राति नै पत्रकारहरूको बीचमा सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासङ्घ सिन्धुलीकी उपाध्यक्ष बिमला पाण्डे, सचिव विदुर पौडेल, पूर्व अध्यक्षहरू राजकुमार कार्की, सञ्जय दाहाल, श्यामहरि अधिकारी, मिनकुमार दाहाललगायतका जिल्लाका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंह, डिएसपी लोकदर्शन थापासँग घटना र घाइतेको उपचारका सन्दर्भमा छलफल गरेका छन् ।

छलफलमा एसपी सिंहले घाइतेको उपचारको प्रबन्ध गर्ने र दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


बिमला पाण्डे