पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

  ०७५ जेठ २२ गते

नेपाल टिभी महोत्तरी सम्बाददाता राजिव राय कुर्मीमाथि जेठ २१ गते प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले हातपात गर्दै दुर्व्यवहार गरेका छन् ।

'तस्कर'सँग पैसा लिइरहेको अवस्थाको प्रहरीको फोटो खिचेका कारण आफूमाथि दुर्व्यवहार गरिएको पीडित पक्षको आरोप छ । 'फोटो किन खिचेको ?' भन्दै प्रहरी हवल्दार वस्नेतले पत्रकार रायलाई हातपात गर्दै दुर्व्यवहार गरेका पीडितले बताए ।

सम्सी गाउँपालिकास्थित बजार क्षेत्रमा वर्दीमै रहेका एक प्रहरी जवान राकेश रायले पैसा लिइरहेका बेला फोटो खिचेका पत्रकार रायलाई तत्कालै सोही ठाउँमा आइपुगेको इलाका प्रहरी कार्यालय सम्सीका हवल्दार वस्नेतले धक्कामुक्की गर्दै मोवाइल खोस्ने प्रयास गरेको साथै कठालो समात्दै फोटो डिलिट गर्न प्रयास गरेका थिए ।

पत्रकार रायले आफू पत्रकार भएको परिचय दिँदै फोटो खिच्ने आफ्नो अधिकार भएको बताएपछि हवल्दार वस्नेतले कठालो छाडेका थिए । कठालो समातेकै बेला हवल्दार वस्नेतले आफूलाई कसैले कारबाही गरेपनि जागिर नै खान नसक्ने र जहाँ सरूवा गरेपनि फरक नपर्ने भन्दै सञ्चारकर्मीमाथि खनिएका थिए ।

सम्सीका विभिन्न नाका हुँदै दैनिक लाखौँ रकम बराबरको तस्करी प्रहरीकै मिलोमतोमा भइरहेको खबर पाएको र सोबारे वास्तविकता बुझ्न आफू नाका छेउमै जाँदा प्रहरीले वर्दीमै तस्करहरूसँग पैसा असुली गरेको देखेपछि फोटो खिचेको सञ्चारकर्मी रायले बताए ।

घटनाबारे जानकारी पाएका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले तत्काल यसबारे बुझ्ने बताएका छन् । उनले घटनामा प्रहरी दोषी देखिए कारबाही हुनेमा निश्चिन्त रहन सञ्चारकर्मीहरूलाई भनेका छन् ।


अजयकुमार साह