पत्रकारमाथि दुर्व्यवहारः महासङ्घद्वारा घटनाप्रति आपत्ति

  ०७६ साउन १४ गते

रेडियो कर्णाली आवाजका संवावददाता एवम् नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेशका सदस्य, सिमकोट गाउँपालिका-७ का ३६ वर्षीय मन्दिर सिंहलाई सर्केगाड गाउँपालिका-५ गोठी घर भई हाल सिमकोट गाउँपालिका मातहत रहेको पशु शाखा कार्यालयका अधिकृत ५० वर्षीय महेन्द्रबहादुर शाहीले साउन १३ गते दुर्व्यवहार गरेको भन्दै पत्रकार महासङ्घ हुम्लाले आपत्ती जनाएको छ ।

रेडियो कर्णाली आवाजमा साउन १३ गते प्रसारित विभिन्न गाउँहरूमा पशुहरूलाई खोरेत तथा जिब्रेन रोग लागेको र उपचारका लागि सरोकारवाला निकायको ध्यान जान नसकेको समाचारलाई लिएर पत्रकार सिंहलाई मार्ने धम्की दिएको पत्रकार महासङ्घ शाखा कार्यालय, हुम्लाका अध्यक्ष अर्जुन बोहोराले बताए । पत्रकार सिंहका अनुसार आफूमाथि अधिकृत शाही मात्र नभएर शाहीसँग आएका नाम नखुलेका अपरिचित व्यक्ति अन्य दुई जनाले समेत आफूलाई कुटपिट गर्न खोजेको बताए । घटनालगत्तै पीडित सिंहले जिल्ला प्रहरी कार्यालय, हुम्लाका डिएसपी रामप्रसाद घर्ती मगरलाई फोन गरी जीवन रक्षाका लागि आग्रह गरेका थिए ।


नन्द सिंह