पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर ११ गते

बुलिङटार गाउँपालिका–४ की १८ वर्षीया गौमती गोदामीलाई हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति तुलाराम गोदामीलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

गौमतीको हत्या ०७५ जेठ २० गते भएको र उक्त हत्यामा गौमतीका पतिसहित परिवार नै संलग्न रहेको पीडित पक्षको आरोप छ ।

गौमतीका ४१ वर्षीय ससुरा चेतबहादुर गोदामी, ४४ वर्षीया सासू पदमागोदामी, १६ वर्षीया बालिका र पतिले ०७५ जेठ २० गते गौमतीको हत्या गरी घरनजिकै जङ्गलमा लगेर झुण्डयाएको माइती पक्षको आरोप छ ।

शवको पोष्टमार्टम ०७५ जेठ २० गते जिल्ला अस्पताल भरतपुर चितवनमा गरिएको थियो । पीडित पक्षले ०७५ जेठ २५ गते जिल्ला प्रहरी कार्यलय नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा उजुरी दर्ता गर्न जाँदा प्रहरीले झुण्डी आत्महत्या गरेको घटना भन्दै दर्ता गर्न नमानेको र पछि पीडितपक्षले ०७५ साउन ३१ गते उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएको गौमतीका बुबा गिरनबहादुर जर्गाहले बताउनुभयो ।

उच्च अदालत पोखराले ०७५ कात्तिक १४ गते घटनाको अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार आरोपित तुलरामलाई गिरप्mतार गरेर मङ्सिर ९ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी अर्जुन रानाभाटले बताउनुभयो । घटनाका अन्य आरोपित फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको रानाभाटले बताउनुभयो ।


तिर्थराज डुम्रे