पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २५ गते

मकवानपुर जिल्ला घर भई पोखरा मनपा–१० रामबजारमा बस्ने २८ वर्षीया लक्ष्मी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति रमेश नेपालीलाई असार २५ गते गिरफ्तार गरेको छ ।

आरोपित नेपालीले असार १ गते पत्नीलाई औषधि गर्न जाने भन्दै पोखरा मनपा–२२ पुम्दिभुम्दीस्थित ठुल्ढुङ्गाको जङ्गलमा हत्या गरी फालेको अवस्थामा असार २५ गते बिहान प्रहरीले अस्थिपञ्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

सिद्धार्थ राजमार्गबाट करिब ५ सय मिटर तल पोखरा मनपा–२२ पुम्दिभुम्दीको ठुल्ढुङ्गाको जङ्गलमा अस्थिपन्जर भेटिएको एसपी कार्कीले बताए ।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।


सुशन घिमिरे