पत्नी हत्या घटनाका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

  ०७५ जेठ २३ गते

३० वर्षीया समिला खातुनको हत्याका आरोपित कल्यानपुर नपा–६ का खातुनका पति ३५ वर्षीय ओली राइनलाई जिल्ला अदालतले जेठ २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।  न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलले बताए ।

गत मङ्सिर ५ गते उनका पतिले घरायसी विवादमा खुकुरी प्रहार गरी घाँटी काटेर हत्या गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा सोही दिन उजुरी हालेका थिए ।

शवको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा मङ्सिर ५ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई मङ्सिर ६ गते धनुषाबाट गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित मङ्सिर २६ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।


दुर्गा परियार