पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७५ जेठ ६ गते

घ्याङलेख गाउँपालिका-३ तामाजोर लप्सेकी ४२ वर्षीया सुपरानी गोलेलाई हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति एकिम गोलेलाई जेठ ५ गते गिरफ्तार गरेको छ ।

आरोपित एकिमले मादक पदार्थ सेवन गर्न २ सय रुपियाँ पैसा नदिएको रिसमा जेठ ४ गते दिउँसो खाना पस्कने पुन्युले हिर्काएर पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर सन्तोष श्रेष्ठले बताए ।

सुपरानीको टाउकोमा पुन्यु गाडिएपछि घटनास्थलमै मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताए । खाना खान आग्रह गर्दा मादक पदार्थ सेवन गरी आएका बावुले आमाको हत्या गरेको २१ वर्षीया छोरी सरिता गोलेले बताइन् ।

'आमाले रक्सी खान २ सय रुपियाँ दिन नमान्दा ज्यानै गयो । रक्सीले परिवारको खुसी नै लुट्यो ।'-सरिताले रूँदै भनिन् । मृतकका दुई छोरी र एक छोरा छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी विनोद शर्माका अनुसार हत्याको आरोपमा संलग्न गोलेलाई गिरफ्तार गरी घटनाको अनुसन्धान सुरू गरिएको छ । शवको पोष्टमार्टम जिल्ला अस्पताल सिन्धुलीमा जेठ ५ गते नै गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।


बिमला पाण्डे