पत्नी हत्याका आरोपित गिरफ्तार

  ०७३ माघ १९ गते

नेपालगञ्ज उपमनपा-१२ की २२ वर्षीया अनिशा खटिकमाथि आगजनी गरी फरार रहेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजेन्द्र खटिकलाई माघ १९ गते नेपाल भारत सिमानाको जमुनाहा नाकाबाट गिरफ्तार गरेको छ ।

आरोपितले माघ ६ गते राति घरयासी विवादमा आगजनी गरिएकी पीडितको काठमाडौँको शिक्षण अस्पतालमा उपचारको क्रममा माघ १८ गते निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित अनिशाले पति राजेन्द्रले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र यातना सहन नसकेपछि आत्मदाहको प्रयास गरेको बयान दिएको भए पनि घटनामा पति राजेन्द्रले आगजनी गरी फरार रहेको आशङ्कामा प्रहरीले राजेन्द्रको खोजी गरिरहेको थियो ।

आगजनीबाट गम्भीर घाइते भएकी अनिशाको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार सम्भव नभएपछि सोही दिन साँझ थप उपचारको लागि काठमाडौँ पठाइएको थियो ।

आरोपित गिरफ्तार भएको र  घाइतेको मृत्यु भइसकेकोले सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले बताए ।


विनोद पाण्डे