पत्नी हत्याका आरोपित गिरफ्तार

  ०७३ मङ्सिर १३ गते

ताहुँ गाविस-७ पाल्पाकी २४ वर्षीया बिनु पुलामी मगरको हत्या गरेको आरोपमा २७ वर्षीय पति दिपेन्द्र बस्याललाई प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

बिनुको हत्यापछि दिपेन्द्र स्थानीय अर्की युवती लिएर भारततर्फलुकेर बसेका थिए । आरोपित दिपेन्द्रलाई भारतीय प्रहरीसँगको सहकार्यमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हरिराज वाग्लेले जानकारी दिए ।

सोही घटनाको अनुसन्धानका लागि प्रहरीले दिपेन्द्रका बुवा लक्ष्मण बस्याल र आमा पार्वती बस्याललाई मङ्सिर ११ गते नै गिरफ्तार गरेको थियो ।

मृतक महिलाका बुवा नरेन्द्र पुलामीले मङ्सिर ९ गते छोरीको हत्या ज्वाइँ दिपेन्द्रले गरेको भन्दै जिल्ला प्रहरी कार्यलय पाल्पामा किटानी जाहेरी दिएका थिए । आरोपित र मृतकको अन्तरजातीय प्रेम विवाह ०६९ सालमा भएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना