पत्नी र छोरीलाई एसिड प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

  ०७७ मङ्सिर १ गते

२१ वर्षीया पत्नी आरती साह र ३ वर्षीया छोरी रिया साहलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठा घर भई हाल सोही उपमहानगरपालिका-७ जानकीनगरमा डेरामा बस्दै आएका २४ वर्षीय सञ्जिव साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले कात्तिक २९ गते गिरफ्तार गरेको छ । कात्तिक २८ गते बिहान १० बजेतिर कोठामा सञ्जिव साहले पत्नी र छोरीको शरीरमा एसिड प्रहार गरी फरार भएका थिए । एसिड प्रहारपछि आरती साहको टाउको, मुख, छातीदेखि कम्मरसम्मको २० प्रतिशत अङ्ग जलेके जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल जनकपुरका डा. आदित्य यादवले बताउनु भयो । रिया साहको हात र टाउकोमा एसिडले गर्दा घाउ भएको छ । उनको अवस्था सामान्य रहेको छ । आरती साहको उपचार जनकपुरमा सम्भव नभएपछि कात्तिक २९ गते साँझ नै तीन वर्षीया छोरीसँगै कठमाडौँस्थित कीर्तिपुर अस्पतालमा थप उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनु भयो ।

कात्तिक २८ गते बिहान छोरीको कोठामा गिलास लिएर आएका ज्वाई सञ्जिव साहले छोरीको शरीरमा एसिड प्रहार गरेर भागेको पीडितकी आमा सुनिता देवी साहले इन्सेक धनुषा प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो । एसिड आक्रमणपछि तत्कालै छोरी र नातिनीलाई जानकी हेल्थ केयरमा उपचारका लागि भर्ना गरिएको र त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकहरूकै सल्लाहमा काठमाडौँ स्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको सुनिता देवी साहले बताउनु भयो ।

चार वर्षअघि सञ्जिव साह र आरती साहको मागी विवाह भएको थियो । विवाह भएदेखि नै सञ्जिवले मादक पदार्थ सेवन गरी आरतीलाई गालीगलौच, कुटपिट गर्न थालेपछि जनकपुरधाम उपमहानगरपालिका-७ जानकीनगरस्थित माइती घरको छेउमै कोठा भाडामा लिएर बस्न थालेका थिए । पति र पत्नीबिच सम्बन्ध बिग्रेपछि पत्नी छुट्टै बस्न थालेपछि पति सञ्जिवले रीसले डेरामा आएर पटक पटक आरतीलाई कुटपिट गर्दै आएका थिए । यसअघि समेत शरीरमा करेन्ट र मट्टितेल खन्याएर मार्ने प्रयास गरेको पीडितकी आमा सुनिता देवी साहले बताउनु भयो । उहाँले छोरीको ज्यान जोगाई न्याय दिलाई दिनका लागि मानवअधिकारकर्मी, सञ्चारकर्मीहरूलाई आग्रह गर्नु भएको छ ।


दिपेन्द्रप्रसाद सिंह