पत्नी र छोरीको हत्या गरी आत्महत्या

  ०७६ असोज २२ गते

इटहरी उमनपा–१७ स्थित पकलीकी ६ वर्षीया स्वस्तिका शर्मा र ३२ वर्षीया पुनम शर्माको हत्या गरी राजेश शर्माले झुण्डिएर आत्महत्या गरेका छन् ।

दशैँको टिकाकै दिन घरभित्रै एकै परिवारका हत्या र आत्महत्या सहित तीन जनाको शव भेटिएको थियो । राजेश शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी पत्नी पुनमको शव टिनको बाकसभित्र भेटिएको छ । यस्तै छोरीेको शव बोराभित्र पाइएको छ ।

इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर जितेश दाहालले घटना दर्दनाक भएको कारण अनुसन्धान गर्ने क्रम भइरहेको बताए ।

‘किन आफ्नै छोरी र पत्नीको हत्या गरेर आफू झुण्डिए भन्ने विषयमा हामी अनुसन्धान गर्दै छौँ ।’–इन्स्पेक्टर दाहालले भने ।

पत्नी र छोरीसहित घरमा बस्दै आएका राजेश झुण्डिएको अवस्थामा उनकै १२ वर्षीय छोराले देखेका थिए । नजिकै रहेको हजुरबुबाको घरमा बस्दै आएका बालक दशैँको टिका लगाउन बुबालाई बोलाउन आएका थिए ।

झ्यालबाट हेर्दा बुवा झुण्डिरहेको भेटेपछि उनलाई तत्कालै धरानस्थिन वीपी प्रतिष्ठान पुर्‍याइएको थियो । त्यहाँ अस्पतालले मृत घोषित गरिदिएपछि घरमा ल्याएर टिनको बाकस खोलेर हेर्दा पुनमको शव भेटिएको थियो भने छेउमै बोरामा बाँधेको अवस्थामा स्वस्तिकाको शव भेटिएको सुनसरीका डिएसपी विनोद शर्माले बताए ।

पुनमको टाउकोमा धारिलो हतियारले प्रहार गरेर र स्वस्तीकाको मुन्टो बटारेर मारेको हुनसक्ने अनुमान गरिएको छ ।

लामो समयदेखि राजेश र पुनमबिच घरायसी विवाद थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए ।


जयकृष्ण यादव