पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

  ०७५ असार २८ गते

त्रिपुरासुन्दरी नपा-१० की २८ वर्षीया मुना बुढालाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति इबे बोहरालाई असार २७ गते गिरफ्तार गरेको छ ।

मुना बुढाले आफूलाई पतिले प्रत्येक दिन कुटपिट गर्दै आइरहेका र पछिल्लो पटक असार २७ गते दिउँसो चिरपट दाउराले कुटपिट गरेको भन्दै प्रहरी चौकी त्रिपुराकोटमा असार २७ गते सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् ।

पतिको कुटपिटबाट मुनाको ढाडमा चोट लागेको छ । प्रत्येक दिन कुटपिट गर्दै घर निकाल्ने धम्की दिन थालेपछि पतिको बानीमा सुधार नआएकाले मर्नु भन्दा सम्बन्ध बिच्छेद गर्नु उचित ठान्दै प्रहरी कार्यालयमा निवेदन दिएको पीडित मुना बुढाले गुनासो गरिन् ।

प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज सई रोमहर्ष सिजवालका अनुसार इबेले मुनालाई कुटपिट गरेको घटनाको उजुरी यसअघि पनि परेको थियो । समस्या समाधानका लागि दुवैलाई छलफलमा राखिएको थियो । भरसक सम्बन्ध नबिग्रने गरी सुधार गर्ने उद्देश्यले इबेलाई हिरासतमा राखिएको सई सिजवालले बताए ।


विष्णुप्रसाद देवकोटा