पत्नीको हत्या गरेको आरोपमा माइतीपक्षद्वारा उजुरी

  ०७४ असोज २४ गते

धनगढीमाई नपा-९ की २० वर्षीया अञ्जना मगरको हत्या गरेको आरोपमा उनका २२ वर्षीय पति कैलश थापाविरूद्ध माइती पक्षले असोज २३ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको छ ।

पीडित परिवारका अनुसार फागुनमा अन्तरजातीय विवाह गरेकोले पटकपटक परिवारमा झैझगडा भइरहेको थियो ।

असोज २२ गते पनि सामान्य विवाद भएको र पति पासपोर्ट बनाउँछु भनी घरबाट निस्किएको आधा घण्टामा झुण्डिएर आत्महत्या गरेको खबर आएकोले हत्या गरी भागेको हुन सक्ने भएकोले घटना अनुसन्धान गरी कारबाहीका लागि उजुरी हालेको मृतककी माइजू मिना आलेले बताइन् । शवको पोष्टमार्टम धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज २३ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीका अनुसार घटनाको अनुसन्धान गर्न आरोपितलाई असोज २३ गते गिरफ्तार गरिएको छ ।


दुर्गा परियार