पत्नी र छोरालाई ज्यान मार्ने उद्याेग गरेको आरोपमा एक वर्ष कैद

  ०७६ माघ २९ गते

सिद्धलेक गाउँपालिका–१ की २४ वर्षीया बिमला दराई लम्साल र १५ महिनाको छोरो जेनिसलाई तारपिन तेल हालेर आगो लगाई ज्यान मार्ने उद्योग गरेको आरोपमा बिमलाका पति २५ वर्षीय गणेश लम्साललाई जिल्ला अदालतले ०७६ माघ २८ गते एक वर्ष कैद गर्ने लगायतको फैसला गरेको छ ।

लम्साललाई जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले एक वर्ष कैद, १० हजार जरिवाना तथा ४० हजार क्षतिपूर्तिको फैसला गरेको छ । साथै ४ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने गरी जरिवानाको पनि फैसला गरेको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्याधिवक्ता गोविन्द हुमागाइँले बताउनु भयो ।

पत्नी र छोरालाई ०७६ भदौ २ गते आगोलगाई ज्यान मार्ने उद्योग गरेका लम्साललाई प्रहरीले प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको थियो । प्रहरीले माघ २८ गते जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गराएको थियो ।

घरको धन्सारमा भित्रबाट चुकुल लगाई आमा छोरालाई लम्सालले रङ लगाउन प्रयोग हुने तारपिन तेल खन्याएर आगो लगाएका थिए । घटनापछि छोरो बोकेर झ्यालबाट हामफालेर ज्यान जोगाएकी बिमला र १५ महिने छोरो गम्भीर घाइते भएपछि जिल्ला अस्पताल र काठमाडौँको शिक्षण अस्पतालमा उपचार भएको थियो ।


सीताराम अधिकारी