पतिले दिने शारीरिक ‘यातना’बाट अत्यधिक महिला पीडित

  ०७६ असार १८ गते

पछिल्ला तीन वर्षमा घरेलु हिंसाका कारण १ सय ७० जना महिला पीडित बनेका छन । यसरी पीडित हुनेमा सबैभन्दा बढी शारीरिक ‘यातना’ पाउने महिला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क छ ।

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीको तथ्याङ्कलाई हेर्दा ती महिलाहरू अधिकांश पतिबाट पीडित छन् ।

पीडित महिलाले शारीरिक यातना मदिरा सेवनका कारण पाउने गरेको पाइएको छ । पतिले मदिरा सेवन गर्ने र पत्नीलाई यातना दिने गरेको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख असई रचना लामिछानेले बताइन् ।

यसरी यातना दिनेमा परिवारका अन्य सदस्यहरू भने कमै पाइएको उनले बताइन् । उनका अनुसार ०७३/०७४ देखि ०७६ जेठ मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा शारीरिक यातना दिएका ७० ओटा घटना सेवा केन्द्रमा दर्ता छन् ।

त्यस्तै खानलाउन नदिने, घरखर्च नदिने, बालबालिकाको स्वास्थ्य, शिक्षामा ध्यान नदिएको भन्दै ५७ ओटा उजुरी आएका छन् ।

तथ्याङ्क अनुसार यो अवधिमा मानसिक यातना दिनेको सङ्ख्या पनि उत्तिकै देखिएको छ । धम्की दिने, गालीगलौज गर्नेलगायतका मानसिक यातना दिएको भन्दै ५३ जना महिलाले केन्द्रमा उजुरी दिएका छन् ।

घरेलु हिंसामा परेका अधिकांश मुद्दाहरू मेलमिलाप भएका देखिन्छन् । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका उजुरीहरूमा १ सय २९ उजुरीहरू मिलापत्र भएका छन् ।

घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ मा पीडितले चाहेमा प्रहरी कार्यालयले मुद्दा दर्ता भएको ३० दिनमा दुवै पक्षबिच मेलमिलाप गराइदिनु पर्ने प्रावधानका कारण अधिकांश उजुरीहरू मिलापत्र हुन्छन् ।

तीन वर्षको अवधिमा दुई ओटा उजुरी मात्र प्रहरीबाट अदालतमा गएका छन् भने ३५ ओटा उजुरी  कारवाही प्रक्रियामा रहेका छन् ।

यसरी मेलमिलाप गराउँदा पीडितलाई पर्न सक्ने मनोवैज्ञानिक तथा सामाजिक प्रभाव र गोपनियताको अधिकार समेतलाई ध्यानमा राख्नु पर्ने ऐनको प्रावधानका  कारण अधिकांश महिला नचाहेर पनि मिलापत्र गर्न बाध्य रहेको केन्द्रका प्रमुख लामिछानेले बताइन् ।


बिमला पाण्डे