पतिको कुटाइबाट गम्भीर घाइते महिलाको उपचारमा इन्सेकको सहयोग

  ०७३ माघ १३ गते

पतिको कुटाइबाट गम्भीर घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरले माघ १३ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।

विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार गराइरहेकी मोतेलाई खर्च अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको अपिल गरेपछि अस्पतालमै गएर नगद सहयोग गरिएको हो ।

photo20161226morang

माघ १३ गते इन्सेक क्षेत्रीय कार्यालय विराटनगर संयोजक सोमराज थापाले पीडित महिलाका ससुरा होमबहादुर मोतेलाई नगद प्रदान गरे ।

पीडित महिलालाई उनका २५ वर्षीय पति जीवन मोतेले  लागु औषध (गाँजा) सेवन गरेर पुस १ गते मरणासन्न हुने गरी कुटपिट गरेको पीडित महिलाले बताइन् ।

टाउकोमा गम्भीर चोट लागेकी सरिताको उपचारमा आर्थिक स्रोत अभाव भएको सरिताकी सासू हस्तमाया मोतेले बताइन् । 'खान बस्न नै समस्या छ । उपचार कसरी गरुँ ?'-उनले भनिन् ।

बुहारीको उपचारका लागि एक कठ्ठा जग्गामा भएको घर ३ लाख रुपियाँमा बेचेर उपचार गरिरहेको भएपनि अहिले सबै पैसा सकिएकोले समस्या भएको सासू हस्तमायाले बताइन् ।

पाँच वर्ष अगाडि आरोपितसँग विवाह गरेकी सरिताका तीन सन्तान छन् । चार महिनाको दुधे बालकलाई घरमा छाडेर उनीहरू दुवै जना बुहारीको हेरचाहा गर्न अस्पतालमा छन् । आरोपितलाई प्रहरीले पुस ५ गते गिरफ्तार गरी कारबाही प्रक्रिया चलाइरहेको उनीहरूले बताएका छन् ।


इन्दिरा भट्टराई