पतिको कुटपिटबाट घाइते महिला सेफ हाउसमा

  ०७६ जेठ ३१ गते

विष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनकी २१ वर्षीया ज्योतिकुमारी सहनीलाई २३ वर्षीय पति अरुणकुमार यादवले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३० गते उजुरी दिएकी छिन् ।

प्रेम विवाह गरेका पतिले विवाह भएको साढे एक महिनामै रोजगारका लागि विदेश जान खोज्दा पीडितले रोकेको भनेर दुवैबीच विवाद हुँदा पतिले जेठ २९ गते राति कुटपिट गरेको पीडितले बताइन् । कुटपिटबाट पीडितको अनुहार र टाउकोमा चोटपटक लागेको छ ।

एक अर्कालाई प्रेम गरी ०७६ वैशाख ९ गते घरबाट भागेका उनीहरूले जिल्ला अदालत सप्तरीबाट बैशाख १३ गते पति–पत्नीको नाता सम्बन्ध कायम गरेका छन् ।

पीडितको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ । उनको सोही अस्पतालमा जेठ ३१ गते घाउजाँच परीक्षण समेत गरिएको अस्पतालले जनाएको छ । कुटपिटको भयले घाइते पीडित राजविराजस्थित सुरक्षित आश्रय केन्द्र (सेफ हाउस)मा बसेकी छिन् ।


मनोहरकुमार पोखरेल