पठनपाठन नहुँदा विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

  ०७६ असार ४ गते

हुम्लाको खार्पुनाथ गाउँपालिका-२ मा रहेको शङ्कर आधारभुत विद्यालयमा चारओटा विषयको पठनपाठन नभएपछि सोको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।

गत चैत महिनादेखि विद्यालयमा शिक्षक उपस्थित नभएपछि चारओटा विषयको पठनपाठन नहुँदा विद्यार्थीहरूले एक हप्तादेखि विद्यालयमा तालाबन्दी गरेका हुन् ।

खार्पुनाथ गाउँपालिकाले करारमा खटाएका शिक्षक र स्थायी शिक्षक समेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी र अभिभावकले जेठ ३० गतेबाट तालाबन्दी गरेको सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत विष्णुदेवी रावलले बताइन् ।

रावलले नयाँ शैक्षिक सत्र सुरू भएको एक महिनापछि विद्यालयमा नैतिक, सामाजिक, गणित र विज्ञान विषयको पठनपाठन नभएको बताइन् ।

कक्षा ६ देखि ८ सम्म पढाई नभएपछि अभिभावक र विद्यार्थी मिलेर दबाबका लागि विद्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीय ताराविर रावलले जानकारी दिए ।

२ सय १५ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा नौ जना शिक्षकको दरबन्दी रहेको रावलले बताए ।

अभिभावकहरूले विद्यालयका शिक्षक तथा अभिभावक सङ्घका अध्यक्षलाई किन विद्यालयमा पठनपाठन नभएको बारे सोध्दा भन्दा आफुहरूलाई सोको बारेमा कुनै जानकारी नभएको भन्ने प्रतिक्रिया दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कर्ण रावलले बताए ।

विद्यालयका प्रधानाध्यापक बिर्ख छत्याल भने विद्यालयमा गाउँपालिकाले शिक्षक खटाएता पनि काजमा गएका कारणले पठनपाठनमा समस्या आएको बताउँछन् ।


नन्द सिंह