न्यूनतम पारिश्रमिक नपाएको आंशिक प्राध्यापकको गुनासोे

  ०७६ फागुन १३ गते

नेपाल सरकारले ०६९ जेठ ९ मा राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक नपाएको धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूले गुनासो गरेका छन् ।

धनकुटामा बहुमुखी क्याम्पसमा कार्यरत १४ जना आंशिक प्राध्यापकले राज्यले तोकेको पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।

धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापक रमेश श्रेष्ठले राज्यले तोकेको न्यूनतम पारिश्रमिक नपाएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले श्रम ऐन अनुसार पारिश्रमिक पाएका छैनौँ । कसले सुन्ने हाम्रो गुनासो ?’

सरकारले ०६९ जेठ ९ गते राजपत्रमा सूचना प्रकाशित गरेर न्यूनतम मासिक पारिश्रमिक १३ हजार ५ सय ५० रुपियाँ र महङ्गी भत्ता बापत २ हजार ६ सय ६० रुपियाँ तोकेको छ ।

सो अनुसारको पारिश्रमिक नपाएको आंशिक प्राध्यापकहरूको गुनासोबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे गुनासोकर्तालाई उजुरी लिएर आउन आग्रह गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले उजुरी आए रोजगारदाताहरूलाई बोलाएर उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने र आंशिक प्राध्यापकहरूको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।

यस्तै क्याम्पस प्रमुख होमबहादुर बस्नेतले त्रिभुवन विश्वविद्यालयको नियमावलीमा भए बमोजिम ६ महिनामा एकमुष्ट ४५ हजारका दरले दिँदै आएको र त्रिभुवन विश्वविद्यालयले आँशिक प्राध्यापकको पारिश्रमिकका विषयमा कार्यदल बनाएकाले कार्यदलले प्रतिवेदन त्रिभुवन विश्वविद्यालयमा बुझाएपछि आंशिक प्राध्यापकको समस्या समाधान हुने बताउनु भयो ।


ईश्वर थापा