न्याय समितिको काममा ढिलाई हुँदा सेवाग्राही मर्कामा

  ०७६ माघ २४ गते

मध्य नेपाल नगरपालिका अन्तर्गतको न्याय समितिले समयमा काम नगर्दा सेवाग्राही मर्कामा परेका छन् ।

मध्यनेपाल नपा–७ निवासी ४५ वर्षीय सत्यराज घिमिरेले एक बर्ष देखि न्याय समितिमा दिएको उजुरी अझैसम्म कार्यान्वयन नभएको बताउनुभयो ।

न्याय समितिसँग सम्बन्धित मुद्दाको समयमा नै कार्यान्वयन नहुँदा स्थानीय सरकारसँगको विश्वास घटेको घिमिरेको भनाइ छ ।

यो वर्ष परेको ११ वटा उजुरीको पनि कुनै कारवाही नभएको मध्यनेपाल नपा–९ का ३६ वर्षीय सोमबहादुर रिमालले बताउनुभयो ।

नगरपालिकामा आउने मुद्दाहरु प्राय साँध किल्लाको विवाद, झैझगडा र सम्बन्ध विच्छेदका मुद्दाहरु आउने गरेको मध्यनेपाल नगरपालिका उपप्रमुख एवंम न्याय समितिका संयोजक राजकुमार श्रेष्ठले बताउनुभयो ।

दुवैपक्षलाई संगै राखेर छलफल गर्नुपर्ने भएकोले तोकेको र बोलाएको मितिमा उपस्थित नहुने समस्याले फैसल गर्न ढिलो भएको संयोजक श्रेष्ठको भनाइ छ ।

वादी–प्रतिवादी बोलाएको समयमा नआउने र कहिले काहि आफ्नो कामले बाहिर जानुपर्ने भएकोले पनि फैसल गर्न ढिलाइ भएको संयोजक श्रेष्ठले स्वीकार गर्नुभयो ।

अबको १५ दिन भित्र सबै उजुरीको अध्ययन गरेर न्यायिक समितिका सबै पदाधिकारीसँग समन्वय गरि कार्यान्वयन प्रकृया अघि बढाउने श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 


दलबहादुर मजाकोटी