न्यायिक समितिबाट न्याय नपाएको पीडितको आरोप

   ०७६ पुस २२ गते

विराटनगर महानगरपालिका–५ मुनालपथ की ४० वर्षीया पुजा खतिवडा दहालले आफूले न्यायिक समितिबाट न्याय नपाएको आरोप लगाउनु भएको छ ।

छिमेकी ५० वर्षीय रोनक अग्रवालले ०७६ साउनमा आफ्नो घर बनाउने क्रममा घरको कम्पाउण्ड वाल र एकपाखे टहरो भत्काई दिएको पीडितको आरोप छ ।

आफूले रोनक अग्रवालसँग ४ लाख ५० हजार रूपियाँ क्षतिपूर्ति माग गरेको र आरोपितले दिने भनेपनि नदिएकाले सो विषयमा न्यायिक समितिमार्फत् रकम उपलब्ध गराउन निवेदन दिएपनि न्यायिक समितिले न्याय दिलाउन आलटाल गरेको पीडितको आरोप छ ।

पीडितले मङ्सिर ८ गते न्यायिक समिति विराटनगरमा न्याय दिलाउन माग गर्दै दिएको निवेदनलाई न्यायिक समितिले २७१ नम्वरमा दर्ता गरी कारबाही अघि बढाएको छ ।

न्यायिक समिति संयोजक इन्दिरा कार्कीले पीडितले दिएको निवेदन उपर कारबाही प्रक्रियामा रहेको बताउनुभयो ।

आरोपित अग्रवालले मङ्सिर १ गते क्षतिपूर्ति बापतको रकम दिने भनेपनि समय गुज्रिसक्दा समेत नदिएको पीडित खतिवडाले बताउनुभयो ।

आरोपित अग्रवालले पुजासँग गरेको सहमति अनुसार रकम दिन आफू तयार रहेको अवस्थामा पुजाले न्यायिक समितिमा निवेदन दिएकाले न्यायिक समितिले गरेको निर्णय आफू मान्न तयार रहेको बताउनुभयो ।

 

 

 

 

 


नेत्र पी अधिकारी