न्यायिक समितिको छलफलपछि नगरपालिका परिसरमा नै कुटपिट

  ०७६ कात्तिक २३ गते

गाउँघर वा छरछिमेकमा भएका विवादहरूको निरुपण गर्न नेपालको संविधानले नै स्थानीय सरकारलाई कानुनी अधिकार दिएको छ ।

यही अधिकारको प्रयोग गर्दै दुल्लू नगरपालिकामा परेको उजुरीका विषयमा छलफल भइरहेको बेला कात्तिक २२ गते कुटपिट भएको छ ।

गएको साउन २६ गते घर बनाउने कामका लागि ट्याङ्करमा पानी खन्याई सकेर रोकिएको गाडी खस्दा क्षतिपूर्ति मागेको विषयमा नगरपालिकाको न्यायिक समितिमा छलफल हुँदा दूल्लू नगरपालिका–८ बालेश्वरका ४५ वर्षीय आउसे कामीलाई कुटपिट भएको हो ।

विवादको विषयमा सामान्य छलफलपछि उपमेयर विष्णु थापाले दुई पक्षबीच सहमति गर्न नगरपालिकाको प्रतिक्षालयमा पठाएको बेला उजुरी दिएको पक्ष गाडी धनी २६ वर्षीय प्रकाश आचार्य र उनका ३२ वर्षीय दाजू राजु आचार्यले आफूलाई कुटपिट गरेएको आउसे कामीले बताए ।

पानी ल्याएको ट्याङ्कर खाली भइसकेपछि आउसेकै घर नजिक पार्किङ्ग गरी राखिएको ट्रयाक्टरमा चढेर बालबालिका खेल्न लागिरहेको बेला ट्याङ्कर जडित ट्रयाक्टर सडकबाट करिव २५ मीटर तल खसेको विषयमा मर्मत सम्हार खर्च नपाएको भन्दै प्रकाश आचार्यले नगरपालिकामा उजूरी दिएका थिए ।

छिमेकी ११ वर्षीया बालिका निर्मला भण्डारी र १० वर्षीय बालक शेरबहादुर खत्री ट्रयाक्टरमा चढेर खेल्न लाग्दा ट्याङ्कर जडित ट्रयाक्टर सडकबाट खसेकोमा मर्मत गर्न १ लाख रुपियाँ मागेपछि खाली गरिएको ट्रयाक्टर नलैजानु गाडीवालाको कमजोरी भन्दै आउसेले तिर्न इन्कार गरेका थिए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय दुल्लूमा गाडीवाला पक्षले दिएको उजुरीमा छलफल हुँदा तिर्न बाध्य पार्न नसकिने प्रतिक्रिया दिएपछि वडा कार्यालयमा भएको छलफलमा ५० हजार रुपियाँ क्षतिपूर्ति दिइनुपर्ने भन्दै वडाध्यक्ष टिकाराम थापाले कागज गराएको आउसेको आरोप छ ।

वडा कार्यालयले कागज गराएको रकम नदिएको विषयमा दुल्लू नगरपालिकाको न्यायिक समितिमा परेको उजुरीबारे दुवै पक्षबीच छलफल चल्दै भएको विवादकै बीच सहमतिका लागि बाहिर पठाएको बेला आउसे माथि आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आउसेले पानी खाली गरिसकेको गाडी पल्टिनु आफ्नो दोष नभएको जीकिर गरेपछि आउसे कामीले अडान राखेपछि आक्रमण भएको हो ।

छलफल चलाउँदै गर्दा कुटपिट हुन थालेपछि छलफल छोडेर आफू बाहिर निस्किएकोले थप जानकारी नभएको उपमेयर थापाले टिप्पणी गरिन् ।
न्यायिक समितिमा छलफलकै क्रममा भएको कुटपिटको क्रममा आउसे कामीको देब्रे तिघ्रा, ढाडमा लात्ती र टाउकोमा मुक्का प्रहार गरिएको छ ।

दुई पक्षबीच सहमति गर्न इजलास बाहिर पठाइएको बेला बाहिर नै कुटपिट गर्दै ज्यान लिने धम्की दिएपछि त्यहाँ आएका अरु सेवाग्राहीले जोगाएका थिए ।

घटना लगतै आफू डराएर घर फर्किएको र ज्यान सुरक्षाको माग गर्दै कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको पीडितले बताए ।


अमर सुनार