न्यायाधीश नहुँदा न्याय सम्पादनमा समस्या
जिल्ला अदालत म्याग्दीमा लामो समयदेखि न्यायाधीश नहुँदा न्याय सम्पादनमा समस्या भएको छ ।
म्याग्दीमा भएको एउटा अदालत र त्यसमा एक जना मात्र दरवन्दी रहेको न्यायाधीश सरूवा भएर गएपछि न्याय सम्पादनको काम पुरै रोकिएको छ ।
अदालतमा गत फागुन २९ पछि कुनै पनि मुद्दाको अन्तिम फैसला हुन सकेको छैन ।
जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मी गत फागुन २९ गते बढुवा हुनुभएको र चैत ४ गते रवाना लिएर दाङ जानु भएपछि कुनै पनि मुद्दाको फैसला हुन सकेको छैन ।
‘यहाँका श्रीमान बढुवा भएर दाङ जानुभयाे, अर्को को आउनुहुने हो केही जानकारी छैन ।’ – जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत निमित्त श्रेस्तेदार भेषराज पौडेलले भन्नुभयो ।
अहिले जिल्ला अदालतमा न्यायाधीश बढुवा भएर गएको र श्रेस्तेदार पनि नहुँदा तहशिलदारले निमित्त श्रेस्तेदार बनेर जिम्मेवारी सम्हाल्नुभएको भएपनि निर्णायक अधिकार उहाँलाई हुँदैन ।
संविधानको धारा २० को उपधारा ९ मा प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष, सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाइको हक हुने उल्लेख छ ।
तर जिल्ला अदालत म्याग्दीमा न्यायाधीश नै नभएर समयमै न्याय पाउने र न्यायिक सुनुवाइ हुने हकको उल्लंघन भएको छ ।
जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटी गत मङ्सिर २५ गते म्याग्दीबाट सरूवा भएर जानुभएपछि तहशिलदारले निमित्त श्रेस्तेदारको काम गर्नुभएको थियो भने अहिले न्यायाधीश पनि नहुँदा न्याय सम्पादनको काम पुरै ठप्प रहेको छ ।
सजाय निर्धारणका लागि मिति तोकिएका मुद्दाहरूमा पनि अन्तिम फैसला हुन नसकेको निमित्त श्रेस्तेदार पौडेलको भनाइ छ ।
‘अहिले जिल्ला अदालतमा मुद्दा दर्ता, बयान, बकपत्र, थुनछेक आदेश गर्ने काम भएको छ ।’ उहाँ भन्नुहुन्छ– ‘थुनछेक आदेश भएपनि न्यायाधीश आएपछि पुनःविचार हुन्छ, त्यस्ता आदेश पुनःविचार नभइ माथिल्लो अदालतहरूमा जान नपाइने भएकाले पनि न्यायाधीश नआउँदा सबै प्रकारका कानुनी कार्यहरू रोकिएका छन् ।
हाल जिल्ला अदालतमा कुल ३ सय ८७ मुद्दा परेकोमा १ सय ७५ मुद्दाको अन्तिम फैसला भइ सकेका छन् भने २ सय १२ थान मुद्दा चालु अवस्थामा रहेका छन् ।
चालु आर्थिक वर्षमा १ सय ४४ थान मुद्दा दर्ता भएको र ६८ थान मुद्दा गत वर्षका जिम्मेवारी सरेर आएको थियो ।
त्यसमध्ये गत वर्षको जिम्मेवारी सरेर आएकै ४९ थान मुद्दा बाँकी रहेकोमा दुई ओटा दुई वर्ष भन्दा बढी समय पुरानो मुद्दा अदालतमा रहेको छ ।
जिल्ला अदालत म्याग्दीका निमित्त श्रेस्तेदार पौडेलका अनुसार अहिलेसम्म न्यायाधीश आउने विषयमा केही जानकारी आएको छैन ।
‘कतैबाट सरूवा भएर आउने वा बढुवा भएर आउने केही टुङ्गो छैन ।’–उहाँले भन्नुभयो– ‘न्यायाधीशहरूको सरूवा बढुवा, काज खटाउने काम सर्वोच्चका प्रधान न्यायाधीशको अध्यक्षतामा रहेको न्याय परिषदले गर्ने हुँदा यस बारे मलाई केही जानकारी छैन ।’
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…