न्यायाधीशको रोहबरमा थुनामुक्त भएका कुँवर पुनः गिरफ्तार

  ०७६ पुस १४ गते

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बागलुङ जिल्ला कमिटी सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यालय पर्वतले पुस १३ गते पुनः गिरफ्तार गरेको छ ।

प्रहरीलाई धम्क्याएको आरोपमा असोज ७ गते बागलुङ जिल्लाको ग्वालीचौरबाट गिरफ्तारमा परेका कुँवरलाई मङ्सिर २३ गते बागलुङ जिल्ला अदालतले १५ हजार रुपियाँ धरौटीमा छुटाउने आदेश दिएको थियो ।

तर, अदालतको आदेश अबज्ञा गर्दै सोही दिन कुँवरलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वत जिल्ला अदालतमा सार्वजनिक हित विपरीत कार्य गरेको भन्दै सरकारी वकिल कार्यालय पर्वतमार्फत म्याद थप गरी मङ्सिर २३ गतेदेखि नै हिरासतमा राखेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजालसले पुस १३ गते हिरासतमा रहेका कुँवरलाई न्यायाधीशको रोहबरमा थुनामुक्त गराउन आदेश दिएको थियो ।

बन्दी प्रत्यक्षीकरणको रिट उपर बहस भएपछि जिल्ला न्यायाधीशको रोहबरमा थुनामुक्त गराउने आदेश भएबमोजिम थुनामुक्त गरिएको जिल्ला न्यायाधीश सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

आदेश भए लगत्तै पर्वत प्रहरीले रामबहादुर कुँवरलाई पुनः गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पठाएको छ ।

कुँवरले राजनीतिक आस्थामा सो पार्टीमा रहेपनि कुनै गल्ती नगरेको र सामाजिक कार्यमा सक्रिय रहँदा निराधार आरोप लगाएर पक्राउ पुर्जी बिना नै प्रहरीले गिरफ्तार गरेको आरोप लगाउनुभयो ।


सन्तोष थापा