न्यायमाग्न प्रहरी कार्यालय जाँदा कुटाई खानु परेको सेवाग्राहीको गुनासो

  ०७४ फागुन १२ गते

जिल्ला प्रहरी कार्यालय पर्सामा न्याय माग्न पुगेका जगरनाथपुर गाउँपालिका-६, प्रसौनी शिरा निवासी ४० वर्षीय रघुविर राउत कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्साको केरकार शाखामा कार्यरत सई विनोद साहले कुटपीट गरी थुनेको पीडितले आरोप लगाएका छन् ।

'फागुन ९ गते प्रहरीले आफूलाई जिल्लामा बोलाएको थियो ।'-कुर्मीले भने'आउँदा मोटरसाइल खराब भएपछि केही ढिला भयो । किन ढिला आएको ? भन्दै सई साहले कुटपीट गरे ।'

माघ ७ गते गाउँमा स्थानीयहरूसँग उनको झगडा भएको थियो । गाउँमा रहेको विद्यालयमा सरस्वती पूजाको दिन बिजुलीको पोलबाट तार तानेर बत्ती बाल्ने कुरा थियो । राति बत्ती बाल्न उनले विद्यार्थीलाई भनेका थिए । त्यतिबेलै सोही गाउँका दीना पटेलले 'फोहर शब्द'मा गाली गर्न थालेपछि आफूले मन्दिरमा फोहर गाली नगर भनेर आग्रह गर्दा आफूमाथि कुटपिट गरिएको उनले बताए ।

उनलाई दिनाका ४२ वर्षीय दाइ सहदेव पटेल र ४५ वर्षीय महादेव पटेलले समेत घेरा हालेर कुटपीट गरेका थिए । कुटपिटका कारण तल र माथिको एक-एक वटा गरी दुईवटा दाँत समेत झारिदिएको रघुबीरको आरोप छ ।

जगरनाथपुर गाउँपालिका-६ का वडा अध्यक्ष अयोध्या पटेलको दबावमा सई साहले राउतलाई मुद्दामा मिलापत्र गर्न समेत दबाव दिँदै आएका थिए । एक महिनादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि आफूले न्याय नपाएको बरु उल्टै अन्याय भएको उनको गुनासो छ ।

प्रहरी कार्यालयमा उनीहरू विरूद्ध राउतले माघ ८ गते नै उजुरी दिएको भएपनि कुनै सुनवाइ नभएको र उल्टै प्रहरी कार्यालयमा आफूलाई कुटपिट गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका केरकार शाखाका इञ्चार्ज समेत रहेका सई विनोद साहले दुई-चार थप्पड हानेको स्वीकार गरे ।  प्रहरीले दुई-चार थप्पड लगाउनु र थुन्नु ठूलो कुरा नभएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता राजन लिम्बुले भने प्रहरी कुनैपनि व्यक्ति अन्यायमा परून् भन्ने पक्षमा नरहेको बताए । उनले आवश्यक अनुसन्धान गर्ने र रघुवीर अन्यायमा परेको भए उनले न्याय पाउने बताए ।


केसी लामिछाने