न्यायको माग गर्दै आमा समूहद्वारा प्रशासनमा बुझाए - ध्यानाकर्षण–पत्र

  ०७६ फागुन २२ गते

मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ३४ वर्षीया कविता थापाको हत्यारा तत्काल पत्ता लगाउन माग गर्दै आमा समूहले फागुन २१ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण-पत्र बुझाएको छ ।

गाउँपालिकामा रहेका १० ओटा आमा समूहले सहायक प्रमूख जिल्ला अधिकारी केशव खतिवडालाई दोषी पत्ता लगाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कविता थापाको ०७६ पुस ४ गते घरनजिकै शव फेला परेको थियो । थापाको हत्यापछि फालिएको अवस्थामा शव फेला परेको थियो ।

घटना भएको ७६औं दिनसम्म हत्यारा पत्ता नलागेकोमा सम्बन्धित निकायले नै हत्यारा जोगाउन खोजेको त होइन भन्ने आशंकासहित ध्यानाकर्षण–पत्र बुझाएको पत्रमा उल्लेख छ ।

पीडित परिवारले किटानी जाहेरी दिएका व्यक्तिसँग धेरै प्रमाणहरू जोडिएको भएपनि प्रशासनको अनुमतिमा साधारण तारिखमा छाडिएकोमा आमा समूहले आक्रोश व्यक्त गरेका छन् ।

सम्बन्धित निकायले प्रमाण जोडिएका व्यक्तिहरूसँग अनुसन्धान गरेर निर्दोष भए पुनः सुरूदेखि नै घटनाको प्रभावकारी ढङ्गले अनुसन्धान हुनुपर्ने आमा समूहको माग छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले घटनाको विषयमा अनुसन्धान जारी रहेको र पीडकलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । ध्यानाकर्षण–पत्र बुझ्दै सहायक प्रजिअ खतिवडाले भन्नुभयो,“घटनामा संलग्नको अनुसन्धान जारी छ । चाँडो गरी पत्ता लगाउनेछौ ।”

माग पुरा नभए महिलामाथि हुने हिंसा तथा हत्याको विरूद्ध आन्दोलन गर्ने आमा समूहले चेतावनी समेत दिएको छ ।

जिल्ला अदालत,जिल्ला प्रहरी कार्यालय,महिला मानव अधिकार रक्षक सञ्जाल,पत्रकार महासङ्घलाई आमा समूहले ध्यानाकर्षण–पत्रको बोधार्थ दिएको छ ।

पीडितका पति डम्बरबहादुर थापा वैदेशिक रोजगारीमा भएकाले छोराछोरी र पत्नी मात्र घरमा बस्दै आएका थिए ।

 

 


देवराज गुरुङ