न्यायका लागि पहल गरीदिन आग्रह गर्दै इन्सेकलाई निवेदन

  ०७७ जेठ ९ गते

दुहबी नगरपालिका–९ का ४० वर्षीय अनिलकुमार चौधरीले कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीले उजुरी नलिएको र मिल्नका लागि दबाब दिएको भन्दै न्यायका लागि पहल गरीदिन आग्रह गर्दै इन्सेकलाई निवेदन दिनु भएको छ ।

जेठ ४ गते दुहबी नगरपालिका–९ छाताबेलीका नौ जना युवाहरूले सोही वडाको सप्तरीया टोलमा घरेलु हातहतियारसहित आक्रमण गरी १० जना बढीलाई घाइते बनाएको विषयमा प्रहरीले आरोपित विरूद्ध उजुरी नलिएको भन्दै पीडित पक्षले जेठ ८ गते इन्सेक सुनसरीलाई निवेदन दिँदै न्यायका लागि पहल गरीदिन आग्रह गरेको छ ।

दुहबी नगरपालिका–९ छाताबेलीका केही युवाले जेठ ४ गते मरेको कुकुर सोही वडाको सप्तरीया टोल नजिकको नहर डिलमा फालेपछि दुईओटा टोलका युवाबीच विवाद भएको थियो । विवाद लगत्तै छातावेलीका युवाले हुल बाँधेर घरेलु हतियारसहित सप्तरीया टोलका स्थानीयलाई आक्रमण गरी घाइते बनाएको इन्सेकमा निवेदन दिने ४० वर्षीय अनिलकुमार चौधरीले बताउनुभयो ।

छाताबेलीका युवाले अन्धाधुन्ध आक्रमण सप्तरीया टोलका २५ वर्षीय चन्दन चौधरी, १९ वर्षीय सतिश चौधरी, २४ वर्षीय प्रविण चौधरी, २९ वर्षीय सिन्दुर चौधरी, २५ वर्षीया शान्तीदेवी चौधरी, ३५ वर्षीय राजेश चौधरी, ४२ वर्षीया दस्नीदेवी चौधरी, ४५ वर्षीय प्रभुराम चौधरी, ४३ वर्षीय बासुदेव चौधरी र २५ वर्षीय अशोक चौधरी रहेको पीडित पक्षले जेठ ८ गते इन्सेकमा दिएको निवेदनमा उल्लेख छ ।

पीडित पक्षले दुहवी नगरपालिका–९ छाताबेलीका ३६ वर्षीय मोहम्मद आदम , ३३ वर्षीय मो. शहिद, २४ वर्षीय मो.साजिद , २३ वर्षीय मो.अरसद , ३२ वर्षीय मो.मकसुद, २० वर्षीय मो.रहिस, २४ वर्षीय मो.वासिद र २५ वर्षीय मो. सिटर विरूद्ध जेठ ५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडित अनिलकुमार चौधरीले बताउनुभयो । छाताबेलीका युवाहरूको आक्रमणमा घाइते भएकाहरूको जेठ ४ गते दुहबी नगरपालिकास्थित जीवन ज्योति स्वास्थ्य सेवा प्रालिमा उपचार भएको छ ।

आरोपित विरूद्ध जेठ ५ गते प्रहरीमा उजुरी दिँदा इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर प्रविण कार्कीले कोरोना भाइरसको महामारी भएको बेला निवेदन लिएर कारबाही गर्न नमिल्ने भन्दै मिलापत्र गर्न दबाब दिएको पीडित पक्षको आरोप छ । प्रहरीले निवेदन लिएर कारबाही गर्नुको सट्टा मिलापत्र गर्न दबाब दिएको पीडित अनिलकुमार चौधरीले गुनासो गर्नुभयो।

इन्सेक प्रतिनिधि जयकृष्ण यादवले पीडित पक्षको निवेदन दर्ता नगर्नुको कारण र मिल्नका लागि दबाब दिएको विषयमा बुझ्दा इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर प्रविण कार्कीले कोही सबैलाई आफूले मिल्नका लागि कुनै दबाब नदिएको र घाइतेहरूको घाँउजाँच फारम भइसकेको बताउनुभयो । उहाँले निवेदन दर्ताको लागि समय रहेकाले घटनाका बारेमा यर्थाथ बुझ्ने र कारबाही अघि बढाउने बताउनुभयो ।

Photo 20200521 Sunsari (1)

Photo 20200521 Sunsari (1)

Photo 20200521 Sunsari (2)

Photo 20200521 Sunsari (2)

Photo 20200521 Sunsari (3)

Photo 20200521 Sunsari (3)

Photo 20200521 Sunsari (4)


जयकृष्ण यादव