नौ विद्यालयका ११ सय बालबालिका पाठ्यपुस्तकबाट बञ्चित

  ०७५ चैत २२ गते

नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाँउपालिकाका नौ विद्यालयका करिब ११ सय बालबालिका शैक्षिक सत्र सुरु भएको दुई महिनासम्म पनि पाठ्यपुस्तक बिना नै अध्ययन गर्न बाध्य छन् ।

Photo20190405Dolpa

महादेव आधारभुत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुरकाअनुसार स्थानीय सरकारले समयमा पाठ्यपुस्तक खरिद गरेर ढुवानी नगर्दा समस्या भएको हो । अहिले पुराना किताबहरूबाट पठनपाठन गराइरहेको महादेव आधारभुत विद्यालयका प्रधानाध्यापक हिराबहादुर थापाले जानकारी दिए ।

पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएका श्रवणकुमार रोकायाले किताब खरिद भैसकेको र हिमपातले अबरुद्ध भएको बाटो नखुलेपछि पाठ्यपुस्तक ढुवानीमा ढिलाइ भएको बताए ।

स्थानीय सरकारले गाउँपालिकामा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी भाषाबाट अध्ययन गराउनु पर्ने नीति बनाए पनि नयाँ पाठ्यपुस्तक दुई महिनासम्म नपुगेको प्रधानाध्यापक हिराबहादुर थापाले बताए ।


विष्णुप्रसाद देवकोटा