नेविसङ्घका कार्यकर्ताद्वारा सरकारी मोटरसाइकल तोडफोड

०७५ माघ १९ गते

सरकारी मोटरसाइकल को ३ ब १४३० नम्बरको मोटरसाइकल नेविसङ्घका कार्यकर्ताले माघ १९ गते राजविराजमा तोडफोड गरेका छन् ।

राजविराज नगरपालिकास्थित सहिद दशन चोकमा गुडिरहेको मोटरसाइकलमा दिउँसो नेविसङ्घका कार्यकर्ताले लाठीले हिर्काएर तोडफोड गरेका हुन् । तोडफोडले मोटरसाइकलको अगाडिको भाग, दुवै ऐना र सबै लाइटहरू फुटेका छन् ।

मोटरसाइकललाई थप क्षतिबाट जोगाउन प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । मोटरसाइकल तोडफोड गर्दै दुव्यर्वहार हुन थालेपछि मोटरसाइकल चालक भने भागेका छन् ।

मोटरसाइकल लिन सम्बन्धित व्यक्ति नआएकाले कुन सरकारी कार्यालयको मोटरसाइकल हो थाहा हुन नसकेको एसपी राजेन्द्र विष्टले बताए ।

सडकको चौबाटोमा बसेका नेविसङ्घका कार्यकर्ताहरूले अदालतको काम लिएर आएका प्रदेश २ का मुख्य मन्त्रीका सचिव चढेको ज.१ झ ४३१ नम्बरको गाडी र पारिवारिक कामले पाँचथरको फिदिम पुगेर काठमाडौँ फर्किरहेका निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिका अध्यक्ष पुण्यप्रसाद ढकाल दम्पति चढेको बा.२ झ ३८६० नम्बरको गाडीलगायत दर्जनौँ सरकारी मोटरसाइकल रोकेर साँचो खोसेका छन् ।

विदाको दिन सरकारी साधानको दुरुपयोग बढेकोले नेपाल विद्यार्थी सङ्घको निणर्यअनुसार देशका सबै जिल्लामा विदाको दिन सवारी साधन चल्न नदिने अभियान सञ्चालन गरेको नेपाल विद्यार्थी सङ्घ सप्तरीका नेता घनानन्द यादवले बताए ।


मनोहरकुमार पोखरेल