नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक, प्रदेश १ मा ८ सय १३ जना पीडित

  ०७७ फागुन ७ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण र प्रदेश १ को मानव अधिकार अवस्था विषय अन्तरक्रिया कार्यक्रम फागुन ७ गते विराटनगरमा सम्पन्न गरिएको छ ।

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणी आचार्यले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा उहाँले महिला र बालबालिकाको अवस्था अझैपनि सुधार हुन नसकेको बताउनुभयो । इन्सेकको वर्ष पुस्तक अध्ययन गर्दा समग्र मानव अधिकारको अवस्थाबारे थाहा हुने मुख्य न्यायाधिवक्ता आचार्यले बताउनुभयो ।

Morang photo 20220119 (2)

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय प्रमुख नितु बर्तौलाले धेरै घटनाहरू वर्ष पुस्तकमा समावेश भएको बताउनुभयो । वर्ष पुस्तक एक अभिलेख रहेको उहाँले उल्लेख गर्नुभयो ।

इन्सेक प्रदेश १ कार्यालयका संयोजक सोमराज थापाले सोमराज थापा मानव अधिकार वर्ष पुस्तकले उल्लङ्घनकर्तालाई दबाब सिर्जना गर्ने बताउनुभयो । वर्ष पुस्तकले राज्यलाई पनि वर्षभरिका घटनाका बारेमा अवगत हुने उहाँले बताउनुभयो ।

सन् २०२० मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ८ सय १३ जना पीडित भएको इन्सेकले अभिलेख गरेको थियो ।

Morang photo 20220119 (1)

गिरफ्तारीका घटनामा ३१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ३ सय २५ जना, हत्याका घटनामा ८२ जना, बाल अधिकार उल्लङ्घनका घटनामा २ सय ९९ जना पीडित भएका थिए ।

सन् २०१९ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका थिए ।

कार्यक्रममा प्रदेश १ को उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङलाई पुरस्कृत गरिएको छ ।

Morang photo 20220119 (3)


नेत्रप्रसाद अधिकारी