नेपाल बन्दको छिटफुट प्रभाव

  ०७६ वैशाख ५ गते

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते आह्वान गरेको नेपाल बन्दको छिटफुट प्रभाव परेको छ । अधिका‌श जिल्लामा बन्दको प्रभाव नै परेन भने केही जिल्लामा सामान्य प्रभाव परेको छ ।

इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाए अनुसार जनजीवन आतङ्कित बनाउन ठाउँठाउँमा राखिएका वस्तु बम नभएर अन्य पोकाहरू मात्रै थिए । सर्वसाधारणलाई आतङ्कित पार्न बम जस्ता देखिने वस्तुहरू बम नभएर कतै प्रेसर कुकरमा बासी भात त कतै फोहोरका पोका फेला पारिएको प्रहरीले जनाएको छ ।

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुुसार अपरिचित तीन जनाको समूहले मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट हेटौँडातर्फ आउँदै गरेको कुखुरा बोक्ने ना २ च ९०९४ नम्बरको गाडीमा आगजनी गरेको छ ।

उक्त समूहले थाहा नगरपालिका–४ स्थित पानारोमा रिसोर्ट अगाडि बिहान करिब पाँच बजे आगजनी गरी फरार भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

भिमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको गाडीमा पनि अपरिचित व्यक्तहरूको समूहले बिहान चार बजे आगजनी गरेको प्रहरीले जनायो । दुवै घटनामा संलग्नहरू फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बन्दको मौका पारेर हेटौँडा उपमहानगरपालिका–८ कमानेस्थित वडा कार्यालयको मुलढोका अगाडि र पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–३ तिनताप्के कमानेमा तार समेत जोडिएको प्रेसरकुुर बम फेला परेको छ ।

उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर सागरविक्रम राणाले जानकारी गराए ।

नेकपाले गिरफ्तारीमा परेका आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइको माग गर्दै वैशाख २ गते बिहिबार नेपाल बन्दको आह्वान गरेको सो पार्टीले जनाएको छ । बन्दका कारण मकवानपुर जिल्लाका शैक्षिक संस्थाहरू तथा उद्योग, कलकारखाना बन्द रहेका छन् ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिका–३ नदीपुरस्थित गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका नायक धर्मराज थापा घाइते भएका छन् ।

कागजको डल्लो बेरेर राखेको अवस्थामा भेटिएको ‘डेटोनेटर’लाई डिस्पोज गर्ने क्रममा बारुद पड्कँदा कालिभञ्जन गणमा कार्यरत थापा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले पोखरास्थित फिस्टेल अस्पतालमा घाइतेका उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको जानकारी दिए ।

यस्तै पोखरा महानगरपालिका–२९ स्थित सैनिक बस्तीमा फेला परेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यलय शिशुवाका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए । पोखरा महानगरपालिका–९ स्थित न्यूरोडमामा भेटिएको बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिनाका अनुसार हार्थोक खस्यौलीस्थित रिब्दीकोट गाउँपालिकाको भवनमा बम विष्फोट भएको छ । बिहान २ बजेको समयमा ठूलो आवाजमा बम विष्फोटको आवाज आएको स्थानीयले बताए ।

विष्फोटबाट भवनको पहिलो तलाको एउटा कोठामा रहेको कम्प्युटर, फोटोकपी मेसिनमा क्षति पुगेको छ । त्यस्तै भवन छेउको सेवाग्राही विश्रामस्थलको ट्रष्ट, किसानलाई वितरण गर्न राखेको घाँसको बिउमा समेत क्षति पुगेको छ भने झ्यालको सिसा फुटेको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणी पोखरेलले बताए ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोहलपुर नगरपालिकास्थित कोहलपुर धनगढी सडक खण्डमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ  ।

इलाका प्रहरी कार्यालयदेखि १ हजार ५ सय मिटर टाढा रहेको कृषि बजार अगाडि प्रेसरकुकर बम फेला परेको थियो ।

उक्त बम विप्लव नेतृत्वको नेकपाले राखेको आशङका गरिएको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिहले बताए ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धिखर्क नपा–२ चुत्रावेशीको बगैँचाको ¥यालिङमा सुतली बम फेला परेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले त्रास  सिर्जना गर्न बम राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर खिम घर्तीले बताए ।

इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार कावासोतीको इन्द्रचोकमा बिहान बम विष्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कार्यालयबाट ३ सय मिटर पश्चिमतर्फ महेन्द्र राजमार्ग छेउमा बिहान साढे १० बजे बम विष्फोट भएको हो ।

विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको एसपी राजेश थापाले बताए । सोही ठाउँमा  भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले हटाएको छ ।

यसअघि देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्राम परिसर नजिकै वैशाख ४ गते साँझ बम विष्फोट भएको थियो ।


अनलाइन डेस्क