नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हिरासतमा अनसन सुरू

  ०७४ जेठ २५ गते

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले जेठ २४ गते रातिदेखि अनसन सुरू गरेका छन्  ।

राज्यले बिनाकारण आफुहरूलाई हिरासतमा राखेको र स्वच्छ प्रतिस्पर्धामा राजनीति गर्न नदिएको भन्दै उनीहरूले हिरासतभित्र अनसन बसेको बताएका छन् । अनसन सुरु गरेदेखि उनीहरूले पानी पनि नखाएर अनसन सुरु गरेका हुन् ।

जिल्ला सेक्रटरी चन्द्रबहादुर बुढाथोकीसहित २० जना कार्यकर्ता हिरासतमा अनसन बसेका हुन् । उनीहरूलाई वैशाख १९ गते चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले गिरफ्तार गरेको थियो । जेठ २४ गते जिल्ला अदालत रूकुमले ५/५ हजार रुपियाँ धरौटीमा रिहा गरेको केही समयमा प्रहरीले पुनः गिरफ्तार गरी हिरासतमा राखेपछि उनीहरू थप आक्रोशित बनेका हुन् ।

"हामीलाई गैरकानुनी रूपमा थुनामा राखिएको छ त्यसैले हामीले भोकभोकै अनसन सुरू गरेका हौँ ।"-जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले बताए ।

'हामीमाथि राज्यले गम्भीर मानव अधिकार उल्लङ्घन गरेको छ । यसको लागि पहल गरिदिन हामी सरोकारवाला सबै पक्षसँग आग्रह गर्दछौँ ।'-सक्रेटरी बुढाले भने ।

यस विषयमा प्रतिक्रिया माग्दा जिल्ला प्रहरी कार्यालय रूकुमका डिएसपी अङ्गुर जिसीले यस विषयमा माथिल्लो निकायमा जानकारी गराइएको बताए ।


आदर्श केसी