नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारमाथि आक्रमण

  ०७६ मङ्सिर १२ गते

मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ को वडा अध्यक्ष पदका उमेदवार ३० वर्षीय सुरेन्द्रप्रसाद भट्टमाथि मङ्सिर ११ गते राति नेकपाका कार्यकर्ताले आक्रमण गरेको पीडित पक्षको आरोप छ ।

नेकपाका कार्यकर्ता दोगडाकेदार गाउँपालिका–५ का जनक चन्द, मोहन कार्की, सोही गाउँपालिका–४ का परमानन्द भट्ट, धिरज भट्टलगायतको समूहले आक्रमण गरेको पीडित भट्टको आरोप छ ।

सुरक्षामा खटिएका प्रहरीकै अगाडि कुटपिट गरेको र सुरक्षाकर्मीहरूले सम्झाउँदा समेत उहाँहरूले आक्रमण गर्न नछाडेपछि भागेर ज्यान जोगाएको पीडित भट्टले बताउनु भयो ।

नेकपाका कार्यकर्ताले आफ्नो एकजना कार्यकर्तालाई नियन्त्रणमा लिई फोन गर्न लगाएको र उहाँलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेदवार भट्टको आरोप छ ।

२०–२२ जनाको समूहमा आएका नेकपाका कार्यकर्ताहरूले आफ्ना उम्मेदवारमाथि आक्रमण गरेको नेपाली कांग्रेसका कार्यकर्ता उमेश भट्टले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली कांग्रेसका उम्मेदवार भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताउँदै घटनालाई गम्भीर रूपमा लिएको बताउनु भयो ।

उम्मेदवारमाथी आक्रमण हुनु निन्दनीय कार्य भएको भन्दै कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले दोषीहरूलाई कारबाही गर्न माग गर्नु भयो ।

पीडित भट्टको उपचार स्थानीय श्रीकेदार स्वास्थ्य चौकीमा गरेपछि घर फर्कनु भएको छ ।


नरी बडु