नेत्रविक्रम चन्द नेतृत्वको पार्टीद्वारा ६ प्रमुख सहित १३ जनप्रतिनिधिलाई धम्की

  ०७५ जेठ ८ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले 'भ्रष्टाचारी' भन्दै तीन जना नगरपालिकाका प्रमुख र तीन जना गाउँपालिकाका अध्यक्षसहित १३ जना जनप्रतिनिधिलाई धम्की दिएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तत्काल भ्रष्टचार गरेको रकम फिर्ता गर्न र जनता सामु माफी माग्न सो पार्टीको जिल्ला जनपरिषद्ले जेठ ७ गते सार्वजनिक अपिल गरेको छ ।

नेकपाका सल्यान जनपरिषद् प्रमुख प्रतीकले जारी गरेको प्रेस विज्ञप्तिमा कुपिण्डे नगरपालिकाका मेयर गोविन्द पुन, बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी र शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी, सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर चलाउने, त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगी र कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादु सेनलाई 'भ्रष्टाचार' गरेको रकम फिर्ता गर्न र आगामी दिनमा जनविरोधी क्रियाकलाप नगर्ने प्रतिबद्धता जाहेर गर्न आग्रह गरिएको छ । उनीहरूले नक्कली विल पेश गरेर रकम खाएको विज्ञप्तिमार्फत आरोप लगाइएको छ ।

विभिन्न नगरपालिका र गाउँपालिकाका गरी ७ जना वडाध्यक्षलाई पनि भ्रष्टाचार रकम जनताबिच याचनासहित फिर्ता गर्न र आइन्दा जनताको हितविपरीत कार्य नगर्ने प्रतिबद्धता जनाउन भनिएको छ ।

शारदा नगपालिका-८ का अध्यक्ष जुद्धबहादुर बुढाथोकी, वडा नं ६ का अध्यक्ष भिकराज बुढाथोकी, वडा नं १२ का अध्यक्ष दीपक हमाललाई स्थानीय तहमा बसेर राज्य कोषको रकम भ्रष्टाचार गरेको भन्दै फिर्ता गर्न भनिएको छ ।

त्यसैगरी बागचौर नपा-५ का अध्यक्ष डिल्ली वली, वडा नं ८ का अध्यक्ष रोमु शाही, दार्मा गाउँपालिका-६ का अध्यक्ष दुर्गा मल्ल र वडा नं २ का अध्यक्ष डिल्ली केसीलाई पनि भ्रष्टाचार गरेको रकम जनताबिचमा उपस्थित भएर फिर्ता गर्न र आइन्दा त्यस्तो जनविरोधी क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाउन भनिएको छ ।

भ्रष्टाचारको आरोप लागेका जनप्रतिनिधिले भने सो पार्टीले आफूहरूसँग मोटो चन्दा मागेको र सो दिन नमानेपछि यसरी बदनाम गर्न खोजेको प्रतिक्रिया दिएका छन् । एक वर्षदेखि कसैसँग एक रुपियाँ त के तलब समेत नखाएर जनताको सेवामा खटिएको कपुरकोट गाँउपालिकाका प्रमुख भिम बहादुर सेनले बताए ।

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले यसरी आरोप लगाउनु भन्दा प्रमाण लिएर आएमा आफू जस्तो सुकै सजाय भोग्न तयार रहेको बताए । निस्वार्थ भावनाले जनताका लागि काम गरिरहेको बताउँदै उनले आगामी दिनमा पनि निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्ने बताए ।

Photo20180523Salyan Photo20180523Salyan1


मिना बुढाथोकी