नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते

  २०७७ माघ ७ गते

नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी र ३० वर्षीय दिपक केसी घाइते भएका छन् ।

टाउको र शरीरका विभिन्न अङ्गमा धारिलो हतियार र सिसाको बोतलले चोट लागेका घाइतेको प्राथमिक उपचार नगर अस्पतालमा गरिएको नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति धीरेन्द्र बटालाले बताउनुभयो ।

घाइते तीनै जनालाई थप उपचारका लागि माघ ७ गते कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर कपिल शाहीले जानकारी दिनु भयो ।

केही दिनअघि नेकपाका कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गराएको विषयमा भएको विवाद सम्बन्धमा इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल भइरहेको अवस्थामा नेकपा कार्यकर्ता एवम् आठबीसकोट नपा–३ का वडाध्यक्ष ३२ वर्षीय केशरमान विक, उहाँका ३० वर्षीय भाइ गोपाल विक र वडा नम्बर ८ का वडाध्यक्ष ३४ वर्षीय मानबहादुर चनाराबिच विवाद हुँदा झडपको स्थिति आएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा केशरमान, गोपाल,  मानबहादुर चनारा, आठबीसकोटका जयबहादुर विक र वीरेन्द्र विकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर कपिल शाहीले जानकारी दिनुभयो ।

केही दिनअघि नेकपाका कार्यकर्तालाई काङ्ग्रेसका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गराएको विषयमा माघ ५ गते दुई पक्षबीच विवाद भएको नेपाली काङ्ग्रेस रुकुम पश्चिमका उपसभापति धीरेन्द्र बटालाले बताउनुभयो ।

उक्त विवाद समाधानका लागि माघ ६ गते बिहान इलाका प्रहरी कार्यालय राडीमा छलफल भइरहँदा वडाध्यक्ष शाहीलगायतका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको काङ्ग्रेसको आरोप छ ।

दिनभर झडप हुँदा स्थिति असामान्य बन्दै गएपछि प्रहरीले २० राउण्ड हवाई फायर र अश्रु ग्याँस समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

स्थितिलाई सामान्य बनाउन माघ ६ गते बेलुकादेखि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले राडीबजार क्षेत्रलाई निषेधित क्षेत्रसमेत घोषणा गरेको छ ।

ठूलीभेरी नदी, घारीखोला, सिमबजार र दाँजेगाउँ चारकिल्ला तोकी यसभित्रको क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका कामहरू सबै रोकिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

यसैबीच आठबीसकोट नगरपालिकाका नगरप्रमुख गोर्खबहादुर केसीले माघ ७ गते प्रेस नोट जारी गर्दै वडा नम्बर ३ र ८ का वडाध्यक्षमाथि उछृङ्खल व्यक्तिहरूले आक्रमण गरेपछि घटना अनियन्त्रित भएको जानकारी गराउनुभएको छ ।

पहिलेको विवाद मिलाएर फर्कन थालेका वडाध्यक्षमाथि आक्रमण हुनु दुःखद् घटना भएको भन्दै आगामी दिनमा यस्ता घटना नबल्झिनेगरी समाधान हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।


मनिषा केसी